काठमाडौं । काठमाडौंको रत्नापार्कस्थित शान्तिवाटिकामा १९ औँ ‘काग सम्मेलन’ गरिएको छ । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नापार्कस्थित शान्तिवाटिकामा आज बिहान काग बोलाएर १९ औँ काग सम्मेलन गरिएको हो । सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए ।
दुलालले कागको स्वर निकालेर बोलाएपछि कागहरु उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए । दुलालले विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलनगर्दै आएका छन् । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ ।
काग तिहारमा कागलाई मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले यस वर्षको काग सम्मेलनको सन्देश ६० कटेका वृद्ध नेताहरुको बिदाई र युवाहरुलाई अवसर भन्ने रहेको बताए ।
उनले आगामी वर्ष काग सम्मेलन गरेको २० वर्ष पुग्ने र सो अवसरमा टुँडिखेल वा नारायणटहिटीमा ठूलो कार्यक्रम गर्ने बताए । उनले केही समयपछि काग सम्मेलन गरी सिंहदरबार र संसद भवन अवरोध गर्ने सोच रहेको बताए । कलाकार दुलालले काग सम्मेलनको अवसरमा काग, मयुरका स्वर निकालेर सुनाए थियो ।
यमपञ्चक तिहारको पाँच दिनमा क्रमशः काग, कुकुर, गाई, गोरु र आफ्ना दाजुभाईको पूजा गरिन्छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरी पाँच दिन मनाइन्छ । यसको शुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहारबाट हुन्छ ।
प्रतिक्रिया