काठमाडौँ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका उम्मेदवाहरू यतिबेला मतदाताको घरदैलोमा पुगेका छन् । आफ्नो ऐजेन्डा मतदातालाई सुनाउँदै मत मागिरहेका छन् ।
हाल २५ जना भन्दा कमको उपस्थितिमा चुनावी प्रचारप्रसार गर्न आयोगले छुट दिएको छ । तर, निर्वाचन आचारसंहिताले अहिले ठूला आमसभा, र्याली, भेला गोष्ठी गर्न उम्मेदवारहरूले पाएका छैनन् ।
यसपटक आयोगले उम्मेदवारलाई आमसभा, र्याली र गोष्ठी गर्न १५ दिनको समय दिएको छ । आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार उम्मेदवारहरूले १७ गतेपछि आमसभा, कोणसभा र र्याली निकाल्न पाउने छन् ।
‘कात्तिक १७ पछि जब राजनीतिक दलले आमसभा, कोणसभा, भेला, र्याली, गोष्ठी तथा सेमिनार गरेर निर्वाचन प्रचारप्रसार गर्न थाल्नेछन् त्यसपछि आचारसंहिता उल्लंघनका घटना बढ्न सक्ने भएकाले सञ्चारमाध्यम चनाखो हुनुपर्छ,’ गण्डकी प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको पोखरामा उद्घाटन गर्दै आयुक्त भण्डारीले भने ।
आचारसंहिता परिपालना गर्ने सम्बन्धमा आयोगमा परेका उजुरी र प्राप्त सूचनालाई आधार मानी प्रमाणको आधारमा दलका नेता एवं उम्मेदवारलाई स्पष्टीकरण माग्दा त्यस्ता व्यक्तिहरूले आकाश खस्यो, पृथ्वी फुट्यो भनेजसरी कोलाहाल गर्नु कानुनको दृष्टिमा नमिल्ने कुरा भएको समेत आयुक्त भण्डारीले बताए ।
प्रतिक्रिया