काठमाडौं । कात्तिक ११ अर्थात भाइटीकाको भोलिपल्टदेखि प्रदर्शन हुने नयाँ नेपाली फिल्म ‘महापुरुष’ को आइतबार काठमाडौंमा ग्राण्ड प्रीमियर गरिएको छ ।
विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुका साथमा कलाकार तथा सञ्चारकर्मीले प्रीमियर शोमा फिल्म हेरेपछि उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।
यसैबीच, फिल्मका मुख्य अभिनेता हरिवंश आचार्यले आफ्नो जीवनकै उत्कृष्ट फिल्म ‘बलिदान’ मा निर्वाह गरेको फिल्मपछि ‘महापुरुष’ मार्फत नै आफूले सधैं सम्झिरहने भूमिका पाएको बताएका छन् ।
‘बलिदान पश्चात महापुरुषमा गम्भीर भएर आफ्नो अभिनय देखाउन पाएको छु । मलाई प्रायः यस्ता भूमिका अफर हुँदैनन् । म झैँ दर्शकलाई पनि यो उत्कृष्ट लाग्ने विश्वास छ’, अभिनेता आचार्यले भने ।
यो फिल्ममा उनले एकल अभिभावकको भूमिका निर्वाह गरेका छन् । फिल्मले हँसाउदा हँसाउदै रुवाउने र रुवाउँदा रुवाउँदै हँसाउने उनी बताउँछन् ।
‘म भरखरै काठमाडौं बाहिरका सात सहर घुमेर फर्किएको छु । दर्शकले कन्टेन्ट भएको मनोरन्जनात्मक फिल्म हेर्न चाहेका छन् । उहाँहरूको लागि महापुरूष पर्फेक्ट फिल्म हुनेछ’, उनले भने ।
आचार्यले आफूले दोस्रो विवाह गरेकोले विस्तारै अभिनयमा फर्किन मद्दत पुगेको समेत बताए । ‘श्रीमतीको साथले नै काममा फर्किन सकेको हुँ । गर्नै पर्ने थियो । समयमै गरेँ । नगरेको भए पछुताउने रहेछु’, उनले भने ।
एक्लोपनबाट ग्रसित अभिभावक सामाजिक घेराबन्दीका कारण आफ्नो इच्छा दबाएर बस्नु आफैँमा पीडा हुने फिल्मका निर्देशक प्रदीप भट्टाराई बताउँछन् ।
‘हामीले समाजको गलत मान्यतालाई तोड्ने प्रयास गरेका छौँ । विषय सरल लागेता पनि गम्भीर छ । तर हामीले पूर्ण मनोरन्जनात्मक शैलीमा कथा भनेका छौं’, निर्देशक भट्टराईले भने ।
प्रतिक्रिया