काठमाडौँ ।आसन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरू मतदाता भेटघाटमा व्यस्त छन् । मतदान आउन महिना दिन मात्र बाँकी रहँदा प्रतिनिधिसभातर्फ जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा उम्मेदवार रहेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भने अहिलेसम्म आफ्नो क्षेत्रमा आइपुगेका छैनन् ।
हरेक निर्वाचनमा स्थानीय कांग्रेस कार्यकर्ताबाट मनोनयन दर्ता गराउने देउवाले यस पटक श्रीमती आरजु राणा देउवामार्फत उम्मेदवारी दर्ता गराएका थिए । देउवाको सन्देश लिएर मनोनयन दर्ता गर्न डडेलधुरा आइपुगेकी आरजु एक साता चुनावी गतिविधिमा संलग्न भएर काठमाडौं फर्किएकी थिइन् । डडेलधुरामा कांग्रेसको निर्वाचन परिचालन कमिटीका संयोजक भीमबहादुर साउदको नेतृत्वमा अहिले देउवाको चुनावी प्रचार भइरहेको छ । देउवा कहिले जिल्ला आउँछन् भन्ने कांग्रेस नेता–कार्यकर्तालाई पनि जानकारी छैन ।
यही १२र१४ गतेतिर प्रधानमन्त्री जिल्ला आउने कुरा छ,’ डडेलधुरा कांग्रेस सभापतिसमेत रहेका साउदले भने । उनले देउवा नआए पनि त्यति धेरै फरक नपर्ने दाबी गर्दै चुनावी अभियानमा जिल्लाका सबै तहका नेता–कार्यकर्ता होमिएको बताए । ‘प्रधानमन्त्री पार्टी सभापति पनि भएकाले आफ्नो जिल्लामा मात्र केन्द्रित हुने कुरै भएन,’ उनले थपे ।
देउवा आइतबार सत्ता गठबन्धनको संयुक्त प्रशिक्षण भेलामा सहभागी हुन धनगढी आइपुगेका छन् । तर, पछिल्लो पटक जिल्ला कहिले आए, धेरै नेता–कार्यकर्ताले बिर्सिसकेका पनि होलान् । गत स्थानीय निर्वाचनपछि त उनी सुदूरपश्चिम आइपुगेकै छैनन् । उनले सुदूरपश्चिम टेकेको मिति खोज्ने हो भने गत वर्षै पुग्नुपर्छ । उनी गत वर्ष बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा यहाँ आएका थिए । ‘त्यसअघि कहिले आए ठ्याक्कै भन्न सकिँदैन,’ डडेलधुरा प्रदेश क्षेत्र–१ का कांग्रेस सभापति कैलाश पाण्डेयले भने, ‘पार्टीकै कार्यक्रममा २०७५ पछि आएको सम्झना छैन ।’
हरेक निर्वाचनमा मतदान हुन एक साताअघि मात्र देउवा जिल्ला पुग्ने गर्छन् । सामान्यतया सदरमुकाम अमरगढी, पश्चिम भेगको भागेश्वर गाउँपालिकाको बगरकोट, गृह गाउँपालिका गन्यापधुरा, अजयमेरु गाउँपालिकाको चमडा र भित्री मधेसको जोगबुढामा आमसभा गरेपछि उनको चुनावी कार्यक्रम सिद्धिन्छ । २०६४ को संविधानसभा निर्वाचनमा भने साविकका धेरै गाविसमा देउवा पुगेका थिए । त्यसबाहेक मत माग्न जिल्लाभरि घुमेको कांग्रेस कार्यकर्ताहरूलाई पनि सम्झना छैन । कांग्रेसका पुराना कार्यकर्ता पदम भण्डारी भन्छन्, ‘०४८, ०५१ र ०६४ बाहेकका निर्वाचनमा देउवाले भूगोल मिलाएर जिल्लाका ४ ठाउँमा आमसभा गरेर चुनावी प्रचार गरेका थिए । यस पटक के गर्छन् थाहा छैन ।’
गृहजिल्ला पुगेपछि स्थानीय होटलमा बस्ने गरेका देउवाको सदरमुकाममा आफ्नो घर छैन । गाउँ–गाउँबाट देउवालाई भेट्न कार्यकर्ता सदरमुकाम आइपुग्छन् । कार्यकर्तालाई सदरमुकाममै झिकाएर पनि उनले निर्देशन दिने गर्छन् । आफ्ना कार्यकर्ताभन्दा पनि देउवाले विपक्षी दलका नेता–कार्यकर्तालाई चुनावमा बढी समय दिने गर्छन् । विपक्षी दलका नेता–कार्यकर्ता पनि एक्लाएक्लै सुटुक्क देउवालाई भेट्ने गर्छन् । ‘उनीहरूसँग के कुरा हुन्छ, अहिलेसम्म कसैले बताउन सक्दैन । विपक्षी दलका नेता–कार्यकर्ता भेट्न आउँदा स्वकीय सचिव भानु देउवा पनि साथमा हुँदैनन्,’ जिल्लाका एक कांग्रेस नेता भन्छन्, ‘देउवाको चुनावी रणनीति स्वयं पार्टीका जिम्मेवार नेता–कार्यकर्ताले पनि अहिलेसम्म बुझ्न सकेका छैनन् ।’
कुनै समय थियो देउवा गाउँ–गाउँ पुग्थे । कार्यकर्ताकै घरमा बस्थे, उनकै घरमा पाकेको खान्थे । तर, डेढ दशकयता भएका चुनावमा भने उनी जिल्लाका ४-५ प्रमुख ठाउँमा मात्र आमसभा गरेर चुनाव प्रचार सकाउँदै आएका छन् । अहिले परिस्थिति बेग्लै छ, देशभरि चुनाव प्रचारप्रसार गर्ने दायित्व र उम्मेदवारहरूको दबाबका कारण जिल्लामा धेरै समय दिन नसक्नु स्वाभाविक भएको कांग्रेस डडेलधुराका सचिव हेमराज चटौतले बताए ।
गत आमचुनावमा देउवा मतदान आउन चार दिनअघि मात्र जिल्ला पुगेका थिए । धनगढीको डिभोटी होटलमा मुकाम बनाएर हेलिकोप्टरमा सुदूरपश्चिमका विभिन्न जिल्लामा चुनावी सभामा उनी सहभागी भएका थिए । त्यसै क्रममा उनले ४ ठाउँमा चुनावी आमसभामा सम्बोधन पनि गरेका थिए । यस पटक आफ्नै सहयोगी कर्ण मल्लसँग चुनावी प्रतिस्पर्धा गरिरहेका देउवाले के गर्छन्, धेरैलाई चासोको विषय भएको छ । तर, देउवाले भने हरेक चुनाव जस्तै यो चुनावलाई पनि सहज रूपमा लिएको उनका सहयोगीहरू दाबी गर्छन् । प्रदेशका सामाजिक विकासमन्त्री तथा डडेलधुरा प्रदेशसभा क्षेत्र–२ का उम्मेदवार गोविन्द बोहराले भने, ‘गठबन्धनका उम्मेदवार र देउवाका लागि डडेलधुरामा कुनै समस्या नै छैन ।’
बीपी कांग्रेसका मल्ल एमालेको समर्थनमा देउवासँग प्रतिस्पर्धा गर्दै छन् । प्रदेशसभा क्षेत्र–२ मा गठबन्धनकै एकीकृत समाजवादीका तारा जोशीलाई बीपी कांग्रेसले सघाएको छ । बीपी कांग्रेसले जोशीलाई सघाएपछि केन्द्रको निर्णयविपरीत एमाले जिल्ला समितिले भने प्रतिनिधिसभातर्फ मल्ललाई सहयोग नगर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया