काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारको महत्वपूर्ण दिन आज लक्ष्मीपूजा । आज बिहानै घर–घरमा कुकुरको पूजाआजा गरी तिहार पर्व मनाएपछि लक्ष्मीपूजा पनि आजै मनाइँदैछ ।
सधैँ औँशीको दिन गरिने लक्ष्मीको पूजा औँशीको दिन सूर्य ग्रहण लाग्ने भएकाले आज नै गर्न लागिएको हो । त्यसैले आज बेलुकी धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदैछ ।
आजका दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ । यसै विश्वासका कारण आज घर–घरमा दीपमालिकासहित दीपावली गरिन्छ ।
लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने चलन छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ । गृहिणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गर–गहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन् ।
लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास छ । तिहार र लक्ष्मीसँग जोडिएका किवदन्तीहरुमा थुप्रै मिथक छन् । हिन्दु धर्म देवी–देवताबारे थरि–थरिका मान्यता र मिथकले भरिपूर्ण छ ।
तिहार लक्ष्मी देवीको पर्वका रुपमा मानिन्छ । देवि लक्ष्मीसँग जोडिएको विभिन्न किसिमका मिथक छन् । रातो कपडा, गहनाले सजिएकी, कमलमा बसेकी, सुन र अन्नले भरिएका भाडा हातमा लिएकी लक्ष्मी सुख, समृद्धि, शक्तिकी देवी हुन् ।
तिहारमा लक्ष्मीमातालाई खुशी पार्न चढाउनुहोस् यी पाँच चीज :
१. लक्ष्मी पूजाको दिन बिहान चाँडै उठ्नुहोस् । उठिसकेपछि लक्ष्मी मन्दिर गएर राम्रो केहि वस्त्र र गुलाबको फूल चढाउनुहोस् ।
२. लक्ष्मी पूजाको दिन बिहान उखु ल्याउनुहोस् र साँझ लक्ष्मीपुजा गर्ने क्रममा चढाउनुहोस् ।
३. लक्ष्मी पूजाको रात लक्ष्मी पूजा गर्दा नौ गोमती चक्र राख्नुहोस् । पूजा सकिएपछि चक्रलाई आफ्नो दराजमा राख्नुहोस् ।
४. पूजाको साँझमा गरिब व्यक्तिलाई आफ्नो घरमा भोजन र सकेको दान दिनुहोस् । विशेष पूजामा यो उपाय गर्नुहोस्।
५. यस रात पाँच साबुत सुपाडी, कालो बेसार, पाँच पहेलो कौडी पनि राख्नुहोस् । पूजापछि सबैलाई लगेर आफ्नो दराजमा राख्नुहोस्।
यसो गर्दा लक्ष्मी प्रसन्न हुने सो घरमा सदा लक्ष्मीले बास गर्ने विश्वास छ । लक्ष्मी पूजा गरिसकेपछि मध्यरातमा महिलाले आँगनबाट भित्रसम्म दुःख, दरिद्र हटि सुखशान्ति भित्रियोस्, लक्ष्मी स्थिर भइरहुन् भन्ने उद्देश्यले नाङ्लो ठटाउँदै प्रवेश गर्ने शास्त्रीय विधि गर्ने चलन रहिआएको छ ।
प्रतिक्रिया