काठमाडौं । काठमाडौं महानगरपालिकाले भाइटीकाका दिन सर्वसाधारणका लागि रानीपोखरी खुला गर्ने व्यवस्था मिलाएको छ । यस्तै, दमकल सेवा, सरसफाइ, कल सेन्टरबाट हुने स्वास्थ्य परामर्श, लगायतका अत्यावश्यक सेवालाई पर्वका समयमा पनि नियमित सञ्चालन गर्ने भएको छ ।
आइतबार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले विभागीय प्रमुखहरुसँग बैठक गर्दै अत्यावश्यक सेवा, सार्वजनिक सम्पत्तिको सुरक्षालगायत काम कर्मचारीलाई आलोपालो खटाएर सञ्चालन गर्ने बताए । बैठकमा कर्मचारी स्वास्थ्य बिमालेखका विषयमा छलफल भएको थियो ।
जोखिममा काम गर्ने कर्मचारीहरुलाई प्राथमिकतामा राखेर गरिने स्वास्थ्य बिमालेखअन्तर्गत दुर्घटना बिमा, महामारीजन्य बिमा, ठूला रोगका लागि गरिने बिमा, सामान्य उपचारका लागि गरिने सामान्य बिमा, अस्पताल भर्ना हुन नपर्ने तर महँगो शुल्क तिरेर गरिने उपचार पद्धतिका लागि गरिने बिमा जस्ता विषयमा छलफल भएको थियो ।
प्रतिक्रिया