काठमाडौ । विश्वका सबै भाषा–भाषिकामा उखानको विशिष्ट स्थान रहेको हुन्छ। नेपाली भाषामा पनि उखानको महत्वपूर्ण स्थान रहेको छ। बोलीचालीलाई चोटिलो बनाउन उखानको प्रचुर प्रयोग हुँदै आएको छ। उखान लोक जीवनसँग जोडिएको हुन्छ। यसलाई लोकसाहित्यको एउटा विधाको रूपमा पनि लिने गरिन्छ।
नेपाली समाजमा अनेक बान्कीका उखानहरू प्रचलित रहेका छन्। जातजाति, भाषाभाषी, प्रकृति, जीव, जनावर, हावा पानी अनेकसँग सम्बन्धित उखानहरू पाइन्छन्। यसैक्रममा कुकुरसँग जोडिएको उखानहरू पनि प्रशस्त प्रचलनमा रहेको छ। मानिस र कुकुरको सम्बन्ध कति प्रगाढ छ भन्ने कुरा नेपालमा प्रचलित उखानहरूबाट स्पष्ट हुन्छ। हुन त कुकुरलाई उखानमा हेय पात्रको रूपमा प्रस्तुत गरिएको पाइन्छ। तर, नेपाली जनजीवनसँग अन्योन्यास्रित सम्बन्ध रहेको यी उखानहरूबाट स्पष्ट हुन्छ। नेपालमा प्रचलित उखानहरूका विभिन्न जनावरसँग सम्बन्धित भेटिन्छ। कुकुरसँग जोडिएका जति उखान अरू प्राणीसँग जोडिएको सायदै होला। यसैले भन्न सकिन्छ अरू प्राणीभन्दा बढी कुकुरसँग मानिसको सहकार्य जोडिएको छ।
कुकुर र मानिसको सम्बन्ध हजारौं वर्ष पुरानो रहेको छ। सुरुका मानव किसानहरूले कुकुरको साथ र सहयोग लिएको पाइन्छ। करिव नौ हजार वर्ष पहिले नै किसानहरूले कुकुरलाई साथमा राखेको बीबीसीले लेखेको छ। ‘बायोलोजी लेटर्स’ नामक जर्नलमा प्रकाशित अनुसन्धान अनुसार भन्दै बीबीसीले लेखेको छ ‘निकै पहिलेका कुकुरहरूबारे उपलब्ध डिएनए परीक्षणले मानिसको साथमा कुकुर रहँदै आएको ९ हजार वर्ष पुगेको देखाएको छ। युरोप तथा एसियामा फेला परेका कुकुरका हजारौँ वर्ष पुराना अवशेषमा रहेका डिएनएको परीक्षणबाट पत्ता लागेको छ।’
मानव जातिका पुर्खाले खेतीकिसानी सुरु गर्ने बेलामै कुकुरहरू मानव इतिहासको अङ्ग बनेको थियो। फ्रान्सको रेन विश्वविद्यालयका डा मोर्गेन ओलिभियले भनेका छन्, ‘युरोपभर बसाइँसराइका बेला कुकुरहरू मानिसका पछि लागेको देखिन्छ।’ अन्य अध्ययनहरूले पनि मानिसहरू अफ्रिका र मध्यपूर्वबाट युरोप र एसियातर्फ फैलिँदा कुकुर पनि सँगै रहेका थिए भनेर उल्लेख गरिएको छ।
महाभारत कालमा कुकुर र मानिसको प्रगाढ सम्बन्ध भएको उल्लेख छ। महाभारतका युधिष्ठिर स्वर्ग जादा कुकुरलाई सँगै लगेको कथा जोडिएको छ। कुकुरलाई यमराजको दुत र भैरवको बाहनको रूपमा लिइन्छ।
नेपाली समाजमा पनि कुकुरलाई घरको रेखदेख गर्ने, हिमाली भेगहरूमा भेडाको गोठालोको समेत काम कुकुरले गर्दै आएको छ। अपराध अनुसन्धानमा पनि कुकुरले सघाउने गर्दछ। यसको अब्बल घ्राणशक्तिको कारण अपराधिक घटनामा संलग्नलाई पत्ता लगाउन भूमिका खेल्दछ।
सन् १९५७ मा सोभियत रुसले अन्तरिक्षमा लाइका नामक सडक कुकुरलाई पठाएको थियो। उक्त कुकुरको यानभित्रै मृत्यु भएको थियो। विभिन्न औषधीहरूको प्रयोगका लागि कुकुरको सहयोग लिने गरिन्छ। मानिसको जीवनका लागि कुनै न कुनै रूपमा कुकुरले हजारौं वर्षदेखि साथ दिँदै आएको छ। नेपालमा कुकुरलाई पूजा समेत गरिन्छ। तिहारको दोस्रो दिनलाई कुकुर तिहारको रूपमा कुकुरलाई पूजा गर्ने, मिष्ठान्न परिकार खुवाउने गरिन्छ। कुकुरलाई पूजा गर्ने संस्कृति भए पनि कुकुरलाई हेयको दृष्टिमा प्राय: हेरिछ। कुकुरसँग जोडिएका अनेक उखानबाट पनि थाहा हुन्छ नेपाली समाजमा कुकुर र मानिसको सम्बन्ध निकै पुरानो हो।
कुकुर तिहारको सन्दर्भमा नेपाली समाजमा प्रचलित केही उखानहरू यहाँ प्रस्तुत गरिएको छ। विभिन्न उखान संग्रह, लेख, बोलीचालीमा प्रयोग भएको उखानहरूलाई यहाँ संकलन गरिएको हो। केही उखानहरू लैंगिक हिसाबमा कमसल पनि नभएका होइनन्। तर, यसलाई मात्र उखान र उखान निर्माता तत्कालीन समाजको तस्बिरको रूपमा बुझ्नु उपयुक्त हुनेछ।
१. भुईमा न भाँडा कुकुरलाई टाँडा।
२. कुकुरजस्तै बफादार हुनु।
३. भुक्ने कुकुर भुकिरहन्छ, टोक्ने कुकुर सुतिरहन्छ।
४.सबै कुकुर काशी गए गु केले खाला।
५.कति धोक्न सकेको कुकुरको मुत।
६.कुकुरले खुट्टा टोक्यो भन्दैमा कुकुरको खुट्टा नटोक्नु।
७.अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ।
८.कुकुरलाई घिउ पच्दैन।
९.कुकुर्नीका दशवटा पोई मर्ने बेला कोइ न कोइ।
१०.कुकुरको जस्तो जहाँ पायो त्यही मुत्दै नहिंड।
११. कुकुरजस्तो कति भतुवा लाग्न गको।
१२. कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा राखे पनि बांगाको बांगै।
१३. भुक्ने कुकुरले टोक्दैन।
१४.बोकेको कुकुरले मृग मार्दैन।
१५. कस्तो कुकुरकोजस्तो सोमत नभको।
१६. कुकुरजस्तो कति लखरलखर हिंडछस् ए।
१७. कुकुरको मुत जस्तो कति चुहिएको।
१८. कुकुर्नीजस्ती कति व्याउन सकेकी।
१९. कस्तो कुकुरको जस्तो निद्रा।
२०. कुकुरको जस्तै जाकिएला होस गरेस्।
२१. कति मिलिक मिलिक गर्या कुकुर जस्तो।
२२. द्वारे लाग्यो बोलाउन कुकुर पुच्छर डोलाउन।
२३. भुक्ने कुकुरभन्दा नभुक्नेदेखि डराउनु।
२४. नबोलाईकन त कुकुर पनि जाँदैन।
२५. भोटे कुकुर भुक्ला घरमा कुरा पुग्ला।
२६. काम छोडी कैफेद कुकुरलाई नैवेद।
२७. लात्तीले हानेको कुकुर बैठक माथि।
२८. जहाँ हड्डी, त्यही बस्छ कुकुर अड्डी।
२९. कति कुकुरजस्तो लिप्रिक लिप्रिक गरिराको।
३०. सोझाको मुखमा कुकुरले नि मुत्छ।
३१. के कुकुरलेजस्तो चाटीचाटी खाको।
३२. कुकुरको पनि दिन आउँछ।
३३. कुकुर अज्ञानी हुन्छ र बोलाउनुपर्छ, मानिस त ज्ञानी हुँदा त्यसै पनि जानुपर्छ।
३४. कुकुर एक गाँस खान पायो भने त्यसैमा रमाएर बस्छ,
ढुकुर चौरासी व्यन्जन खान पाएपनि एकै ठाउँमा बसिरहन सक्दैन।
३५.कुकुरको पुच्छर लौरो न हतियार।
३६. कुकुरका छाउरा गन्न पठाएजस्तो।
३७. कुकुर काटी बिरालो पोस्ने।
३८. कुकुर कि टाँडामा बस्छ, कि डाँडामा बस्छ।
३९. कुकुर कुटी पाहुना, तर्साउनु।
४०. कुकुर कुटी वर, ज्वाईं कुटी पर।
४१. कुकुरको काम छैन, बस्न मान्दैन।
४२. कुकुरको काम छैन, सुस्त हिँड्न जान्दैन।
४३. कुकुरको काम न खाजा।
४४. कुकुरको काम पनि छैन, खाने बेलामा माम पनि छैन।
४५. कुकुरको काम पनि छैन, फुर्सद पनि छैन।
४६. कुकुरको घरमा मासुको जिलो खोजेर कहाँ पाइएला।
४७. कुकुर खुशी भए पुच्छर हल्लाउँछ।
४८. कुकुर जतिसुकै टोकाटोक गरेपनि भुक्ने बेलामा सब एक मुख लाग्छन्।
४९. कुकुरको जिब्रो जति राल चुहाए पनि मुखै भित्र।
५०. कुकुरको जुठो खानु, छोराको नखानु।
५१. कुकुरको निउँ पारी चम्चेको दाउ।
५२. कुकुरको पनि आफ्नो घरमा ठूलो स्वर।
५३. कुकुरको पुच्छर बाँगो देख्दा पनि हाँस्ने।
५४. कुकुरको भाउ छ, मानिसको भाउ छैन।
५५. कुकुर खाने बाघले मान्छे पनि खान्छ।
५६. कुकुर जस्तो गुनी र ज्वाईं जस्तो वैगुनी कोही हुँदैन।
५७. कुकुर जहाँ खान पाउँछ, त्यहीँ भतुवा लाग्छ।
५८. कुकुर तर्संदा नडराउनु, भैंसी तर्संदा डराउनु।
५९. कुकुर बिरालोले जोगाएको सम्पत्ति, इष्टले जोगाएको धन।
६०. कुकुर बिरालोजस्तै लगारालगार।
६१. कुकुर भन्छ जहान बढुन्, विरालो भन्छ सबै मरुन्।
६२. कुकुर पनि हरायो, घाँडो पनि हरायो।
६३. कुकुर पाली, आफैं भुक्ने।
६४. कुकुर बिरालाको जात हतपत मर्दैन।
६५. कुकुर भुके हजार हात्ती चले बजार।
६६.कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ।
६७. कुकुर भुक्यो राती, जंगल भाग्यो हात्ती।
६८. कुकुर मरे झैं मरेको।
६९. कुकुर र विरालो जस्तै।
७०. कुकुरलाई एकै गाँस जूठोपुरो खान दिएपनि त्यो सधैं आफ्नो हुन्छ, ढुकुरलाई बाह्र वर्षसम्म चौरासी व्यन्जनले सत्कार गरेपनि कहिल्यै आफ्नो हुँदैन।
७१. कुकुरलाई काम्लो र कुखुरालाई दाम्लो कहिले होस्।
७२. कुकुरलाई घीउ नपचेको।
७३. कुकुरलाई घीउ र भुटेको बीउ।
७४. कुकुरलाई जिस्क्याए टोक्छ, मूर्खलाई जिस्क्याए ठोक्छ।
७५. कुकुरलाई जुठो भातले र बुढाबुढीलाई रोग व्याधले कहिल्यै छोड्दैन।
७६. कुकुरलाई पनि च्यै नभनी आउँदैन।
७७. कुकुरलाई पराल, गाईलाई मासु।
७८. कुकुरलाई प्यारो गरे आफ्नै मुख चाट्छ।
७९. कुकुरलाई प्यारो गरे गुहु ख्वाईदिन्छ।
८०. कुकुरलाई बेथा लाग्दा बाख्रो नमन्छनु।
८१. कुकुरलाई मासुभात खान दिए पनि गुहु खान छोड्दैन।
८२. कुकुरलाई मासु पैंचो।
८३. कुकुरलाई लागेको जाडो र पाहुनालाई लागेको भोकको कसले वास्ता गर्छ।
८४. कुकुरलाई सुनकै थालमा भात खान दिए पनि त्यसलाई घोप्ट्याएर भुइँमै खान्छ।
८५. कुकुरलाई हानेको तीर ढुकुरलाई गएर लाग्यो।
८६.कुकुरले आगो ल्याओस् न फुकोस्।
८७. कुकुरले आफ्नो मालिकलाई जिन्दगीभर पर्खिरहन्छ।
८८. कुकुरले कपास छरोस् न धोती लाओस्।
८९. कुकुरले कहाँ भुक्छ, कहाँ भुक्दैन।
९०. कुकुरले टोके पनि खराब, चाटे पनि खराब।
९१. कुकुरले दाइँ हुने भए गोरु केलाई चाहियो ?
९२. कुकुरले दौडने मान्छेलाई र पुलिसले डराउने मान्छेलाई लखेट्छन्।
९३. कुकुरले पनि पेट पाल्छ।
९४. कुकुरले पुच्छर हल्लाउनु पर्नेमा पुच्छरले कुकुर हल्लाएको।
९५.कुकुर र ड्राइभरले एकपटक हिँडेको बाटो कहिल्यै भुल्दैन।
९६. कुकुरले हाड छोडेझैं छोड्ने।
९७. कुकुर सानो भए पनि ठूलो भए पनि बेहोरा उस्तै।
९८. सुघरी स्वास्नीको पोई मोटाउँछ, फोहोरै स्वास्नीको कुुकुर मोटाउँछ।
९९.विना चालले कुकुर भुक्दैन, मुलाको ड्याङमा हात्ती लुक्दैन।
१००. कुकुरको घरमा बिरालो पाहुना।
१०१. माइती घरको कुकुर नि प्यारो हुन्छ।
१०२. कुकुरको जस्तो निद्रा, बकुल्लाको जस्तो ध्यान होस् !
१०३. कुकुरको पुच्छरले इन्द्रीय पनि छोप्दैन झिंगा पनि धपाउँदैन।
१०४. कुकुरलाई पुराण सुनाएर के काम, गु खान छोड्दैन।
१०५. धोबीको कुकुर न घरको न घाटको।
१०६. कुकुरले मुत्न नपरे काशी पुग्थेँ भन्छ रे।
१०७. कुकुरलाई पुराण सुनाएर के काम।
१०८. कुकुरको पुच्छर न झिंगा धपाउँछ न लाज लुकाउँछ।
१०९. कुकुरले लखेटे नभाग्नु, प्रतिरोध गरे कुकुर आफैं भाग्छ।
११०. कुकुरको निद्रा छोटो हुन्छ।
१११.कुकुर बिरालो जस्तो सँधै झगडा गर्ने।
११२. कार्तिकको कुकुर जस्तो।
११३. साहुको घरको कुकुर हुनु पो जाती रहेछ।
११४. कुकुरलाई हान्दा ढुकुरलाई लागेछ।
११५.आईमाईको ज्ञान् र कुकुरको चिहान हुदैन।
११६. सबेरै त कुकुरले पनि गु खान भ्याछैन।
११७. घामपानी घामपानी स्यालको बिहे कुकुर जन्ति बिरालो बाहुन।
११८. कुकुरका बच्चा ग्याल्ग्याल्ती।
११९. उचालेको कुकुरले मृग मार्दैन।
१२०. कुकुरको बाउ र जुवाको दाऊ कसैले चिल्दैन।
प्रतिक्रिया