काठमाडौँ । आज तिहारको चौंथो दिन । आज गाई पूजा गरेर देशभर गाइतिहार मनाइँदैछ । आज खण्डग्रास सुर्यग्रहण भएकाले पनि आज धार्मिक कार्यका लागि अपवित्र मानिन्छ । यद्यपि, अपरान्हपछिमात्र सुर्यग्रहण लाग्ने भएकाले गाईपूजा गर्न भने मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता पनि भन्ने गरिन्छ ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनि आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास पनि रहेको छ ।
किन गरिन्छ गाईको पूजा ?
गाईलाई हिन्दूधर्मावलम्बीहरु गौमाता तथा लक्ष्मीस्वरुपाका नामले पुकार्ने गर्दछन् । गाईको सेवा गरेमा सबै पाप नष्ट हुने जनविश्वास छ । गौमाताको सिङको तल्लो भागमा ब्रह्मा र भगवान विष्णुको बास हुन्छ । साथै सिङको अग्र भागमा तीर्थ रहने विश्वास गरिन्छ । साथै बीचमा महादेवले बास गर्दछन् ।
गाईको निधारमा गौरी, नाकको अग्र भागमा भगवान कार्तिकेय, नाकको दुई प्वालमा कम्बल र अश्तर नाग बस्ने गर्दछन् । गाईको कानमा अश्विनी कुमार, आँखामा चन्द्रमा र सूर्यदेव, दाँतमा आठ वशुगण, जिब्रोमा वरुण, कण्ठमा माता सरस्वतीको वास हुने गर्दछ ।
सबै देवीदेवताहरु गौमाताको शरीरमा रहने भएकोले गाईलाई पूजा गर्ने गरिन्छ । सबै देवी देवताहरु र सबै तीर्थ व्रतादीहरु गाईको शरीरमा लिप्त रहने भएकोले गौमातालाई लक्ष्मीस्वरुप मानेर पूजा गर्ने गरिएको हो ।
प्रतिक्रिया