+
Search

ताजा अपडेट +

पपुलर +

आयोग्य उम्मेदवारको नाम बन्दसूचीबाट हटाउँदै आयोग

Nanu Bhatta
२०७९ कार्तिक ८, मंगलवार

काठमाडौँ । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा रहेका करिब ४ सय उम्मेदवारको उम्मेदवारी खारेज गर्ने तयारी गरेको छ ।

गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर खर्चको विवरण पेस नगरी जरिवानामा परेकाहरू समानुपातिकतर्फको बन्दसूचीमा रहेकाले उनीहरूको उम्मेदवारी खारेज गर्न लागेको हो । उम्मेदवारी खारेजीमा परेकाहरूको नाम आज सार्वजनिक गर्ने आयोगको तयारी छ ।

आयोगले कात्तिक ५ सम्म जरिवानाबापतको रकम बुझाएमा उम्मेदवारी कायम गर्ने निर्णय गरेको थियो । तर, सो अवधिसम्म ३७ जनाले मात्र जरिवाना रकम बुझाएका छन् । गत स्थानीय तहका १ लाख २३ हजार ६ सय २३ उम्मेदवारले समयमा खर्चको विवरण नबुझाएपछि जरिवानामा परेका थिए ।

तीमध्ये आयोगमा हालसम्म १२५ जनाले जरिवाना बुझाएका छन् । जरिवाना बुझाउनेमध्ये ३७ जना समानुपातिकको बन्दसूचीमा छन् । जरिवाना रकम बुझाएकाहरूको उम्मेदवारी आयोगले कायम गरेको छ । ‘जरिवाना रकम नबुझाउने करिब ४ सय जना छन् । जरिवाना नबुझाए उम्मेदवारी खारेज हुने कानुनी व्यवस्था छ,’ आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले भने ।

बन्दसूचीमा रहेका उम्मेदवारहरूको अन्तिम नाम कात्तिक ९ गते सार्वजनिक गर्ने आयोगको कार्यतालिका रहेकाले त्यसअघि नै ती उम्मेदवारहरूको उम्मेदवारी खारेज गर्न लागिएको हो । गत असोज २ र ३ गते दलहरूले बन्दसूची पेस गरेका थिए । प्रतिनिधिसभाको समानुपातिकतर्फ २४०३ र प्रदेशससभाको समानुपातिकतर्फ ४ हजार ५३ गरी ६ हजार ४ सय ५६ जना बन्दसूचीमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा