काठमाडौँ । २५ वर्षदेखि पार्टीको विभिन्न जिम्मेवारी सम्हाल्दै आएका नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्य वखतराम किराँती अन्ततः एमालेमा प्रवेश गरेका छन्।
उनीसँग जिल्लाका प्रभावशाली नेता होम किराँती पनि प्रवेश गरेका छन्। केहि दिनअघि आफ्नो फेसबुक पेजबाट पार्टी परित्याग गरेको सन्देश प्रवाह गरेका होम किराँतीसहितका नेताहरु एमालेमा प्रवेश गरेका हुन्। बखतराम विगत २५ वर्ष र होम १७ वर्षदेखि पार्टीमा आवद्ध भई जिम्मेवारीपूर्वक काम गर्दै आएका नेता हुन्।
माओवादी पार्टी भित्र मौलाउँदै गएको चरमगुटबन्दी, असमानता, विभेद्पूर्ण व्यवहार, नाताबाद कृपाबादबाट वाक्क भएर पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नु परेको उनीहरुले बताएका छन्। कार्यक्रममा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी गरी २ सय ३० नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन्।
एमालेका स्थानीय युवा नेता राजकुमार राईका अनुसार किराँती पार्टीका विभिन्न जनवर्गिय संगठनका १ सय ५० जना नेता, ५६ जना संगठित सदस्य गरी २ सय ६ जना प्रवेश गरेका हुन्। त्यसैगरी नेपाली कांग्रेस लिम्चुङ्गबुङ्ग गाउँपालिका-२ का सचिव कमान चाम्लिङ्ग राईको नेतृत्वमा १५ जना र स्थानीय तहको निर्वाचनमा वडामा जसपाका उमेदवार बनेका बाबुराम राईको नेतृत्वमा ९ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको उनले बताए। उनीहरुलाई एमालेका प्रदेश कमिटी उपसचिव शैलेश लामा, प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ का उमेदवार अम्वरबहादुर रायमाझी, पुर्वमन्त्री कला घले, प्रदेश कमिटी सदस्यद्वय डा। भेषराज थापा, प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ का उमेदवार देवराज राई, पार्टी अध्यक्ष परमेश्वर घिमिरे, उपसचिव टेकबहादुर राउत लगायतका जिल्ला कमिटीका नेताहरुले स्वागत गरेका हुन्।
जनयुद्धकालिन कार्यकर्ताकोरुपमा स्थापित होम किराँती पार्टी भित्रकै विभेदका कारण छोड्न बाध्य भएको बताए। फेसबुक पेजमा आफ्ना शुभचिन्तक, शुभेच्छुक र समर्थकप्रति सान्त्वना दिँदै उनले लेखेका छन्, " श्रद्धय दाजुभाई तथा दिदिबहिनीहरुमा मुटुमाथी ढुंगा राखेर यो कुरा अबगत जाहेर गर्न चाहन्छौं कि आज हामी पार्टीका जिम्मेवार कम्रेडहरुले अत्यन्तै निर्मम र कठोर निर्णय गर्ने कठिन परिस्थितिमा उभिएका छौं कि करिब १७ वर्षे राजनीतिक जीवन यात्रालाई पूर्ण बिराम लगाउदै थाती राख्ने निर्णय गरेका छौं।"
त्यसअघि उनले लेखेका छन्, ‘माओवादी पार्टीका नेता तथा कार्यकर्ताहरुमा बिकारालरुपमा पलाएको कमिसन, भ्रष्टाचार, लुट, दलाल, अनैतिकता, व्यक्तिवाद, नातावाद, कृपावाद, परिवारवाद र अवसरवाद एवम् कुहिएको विकृत पुँजीवादी सोच, चिन्तन, कार्यशैली र प्रवृत्तिप्रति घोर विमति राख्दछौं।ु
प्रतिक्रिया