काठमाडौं । अमेरिकाको मिसौरी राज्यको सेन्ट लुइसस्थित एउटा हाइस्कुलमा भएको गोलीकाण्डमा आशंकित आक्रमणकारी लगायत तीनजनाको ज्यान गएको छ । यस घटनामा अन्य सातजना घाइते भएका छन् ।
स्थानीय समयअनुसार सोमबार बिहान ९ बजेतिर ती बन्दुकधारी सेन्ट्रल भिज्युअल एन्ड पर्फमिंग आर्टस हाइस्कुलमा प्रवेश गरेका थिए । विद्यालय भवनका सम्पूर्ण ढोका भित्रबाटै बन्द गरिए पनि उनी कसरी भित्र छिरे भन्ने स्पष्ट हुन सकेको छैन ।
प्रत्यक्षदर्शीहरुका अनुसार आक्रमणको दौरान अचानक बन्दुकधारीको हतियार जाम भएकाले धेरै व्यक्ति हताहत हुनबाट जोगिएका हुन् । सेन्ट लुइस पब्लिक स्कुलले प्रहरीले तत्कालै बन्दुकधारीलाई रोक्न सफल भएको बताएको छ ।
विद्यालयका सातजना सुरक्षाकर्मीले तत्कालै घटनाबारे विद्यालय प्रशासन र प्रहरीलाई जानकारी गराएका थिए । सोमबार मात्रै गत नोभेमवरमा आफ्नो हाइस्कुलमा गोली चलाउने मिचिगन निवासी एक किशोरलाई हत्या र आंतकवाद लगायतका २४ वटा अभियोगमा दोषी ठहराइएको थियो ।
प्रतिक्रिया