काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा तर्फका ५४८ जना समानुपातिक तर्फका उम्मेदवारहरुको उम्मेदवारी खारेज गरेको छ ।
आसन्न मंसिर ४ को निर्वाचनका लागि आयोगमा दर्ता भएका विभिन्न राजनीतिक दलहरुले समानुपातिक तर्फ बुझाएको बन्दसूचीका नाममा परेका उजुरी र आवश्यक कागजात पुगे नपुगेका आधारमा गरेको अनुसन्धानपछि ५४८ जना उम्मेदवारहरुको उम्मेदवारी खारेज गरेको हो ।
यसरी हटाइएकामा जरिवाना नबुझाएका ३६९ जनासहित छन् ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा समावेश भएका तर निर्वाचन कानून तथा आचारसंहिता उल्लंघनमा परी जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेवारी परेका लगायतका कारणबाट अयोग्य भएका व्यक्तिको उम्मेदवारी खारेज गरी ५४८ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय निर्वाचन आयोगले गरेको हो ।
निर्वाचन आयोगले निर्वाचन कार्यक्रम निर्धारण भई सो कार्यक्रम बमोजिम दलहरूबाट उम्मेदवारको बन्दसूची पेश भई सो बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारहरूको सम्बन्धमा परेको दाबी विरोध उपर जाँचबुझ गरी कानून बमोजिम अयोग्य देखिएका उम्मेदवारको नाम सूचीबाट हटाउने निर्णय गरेको हो ।
प्रतिक्रिया