काठमाडौँ । घरेलु टोली अस्ट्रेलियाले टी–२० विश्वकपमा पहिलो जित निकालेको छ। समूह–१ अन्तर्गत आफ्नो दोस्रो खेलमा अस्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित आत्मसात गरेको हो।
मार्कुस स्टोइनिसको सानदार अर्धशतकमा अस्ट्रेलियाले श्रीलंकालाई सहज रुपमा २१ बल बाँकी हुँदै पराजित गर्न सफल रह्यो।
खेलमा श्रीलंकाले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो। उसका लागि पाथुम निससन्काले ४५ बलमा ४० रन बनाउँदा चरिथा असलन्काले ३८ रन बनाएका थिए। त्यस्तै धन्नजय डी सिल्भाले २६ रन बनाए भने चामिका करुनारत्नेले १४ रन बनाएका थिए।
१ सय ५८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि मार्कुस स्टोनिसले विस्फोटक इनिङ खेले। उनले १७ बलमै अर्धशतक पूरा गर्दै जारी विश्वकपमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बने। साथै उनी अस्ट्रेलियाका लागि टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने खेलाडीसमेत बने।
स्टोइनिसको सानदार प्रदर्शनमा अस्ट्रेलियाले १६।२ ओभरमानै ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। अस्ट्रेलियाको जितमा एरोन फिन्चले ३१ रनको अविजित इनिङ खेल्दा मिचेल मार्सले १८ तथा ग्लेन म्याक्सवेलले २३ रन बनाएका थिए।
जारी प्रतियोगितामा अस्ट्रेलियाको शिर्ष १२ मा यो पहिलो जितसमेत हो। श्रीलंकाले भने आफ्नो पहिलो खेलमा जित निकालेको थियो।
प्रतिक्रिया