
बिदेश पो जाउँ कि ?
शिशिर दाहाल
पढाइ लाई निरन्तरता दिएर त्यसमै केही गरुँ कि ?
पढाई सढाइ छोडेर केही ब्यवसाय पो गरुँ कि ?
कसैले नदेख्ने कोहि न आउने ठाउँमा गएर अर्कै परिचय बोकेर पो बसुँ कि ?
जब जिम्मेवारी हरु बढ्दै जान्छन एक्कासी,
पढाई गर्दै गरेको मान्छेलाई जब जिम्मेवारी बोध हुँदै गर्छ नि तब ,
हाँस्दै गरेको मान्छेलाई भित्र बाट खुशी हुन रोकिदिन्छ यी अनि यस्तै सवालहरुले ।
अझ पनि बच्चा जस्तै गरी जिस्कँदै,
बच्चा जस्तै गरी हिँडडुल साथी भाइहरु सँग गर्दै
गरेको लाई एक्कासी जिन्दगी त बल्ल सुरु पो हुँद रहेछ भन्ने बोध गराइदिन्छ ।
उसले बुझेको हुँदैन कि आउने दिनहरुमा
कति संघर्ष का बाटाहरु पार गर्नु छ उसले अझ
कोही साथीभाई घरबार बसाएर एक किसिमले अघि बढिरहेका हुन्छन,
र कोही बिदेश होमी सकेका हुन्छन,
कोही आफ्नै ब्यवसाय सुरु गरिरहेका हुन्छन
त कोहि म जस्तै हुन्छन के गर्ने के नगर्ने अन्योलमा ।
धेरै कुराहरु भएर पनि केही बोल्न सक्दैन उसले !
बाघबजार, पुतलिसडक, कुमारीपाटी, बानेश्वरका
चोक चोकमा खुलेका कन्सलटेन्सी,
भिता भितामा टाँसिएका अनेक होडिङ बोर्डहरुले ,
लोकसेवा पढाउने, कोचिङ ईन्स्टिच्युट हरुले
बाटो हिँड्दा पनि चिच्चाइ चिच्चाइ बोलाइरहेका हुन्छन उसलाई ।
तर ऊ अन्योलमा हुन्छ, केही भन्नै सकिरहेको हुँदैन
मनले अनेक भनिरहेको हुन्छ तर उसले गर्न केही सकिरहेको हुँदैन ।
न त ऊ कसैलाई केही सुनाउन नै सकिरहेको हुन्छ ।
दिन त जसो तसो बिताउँछ उसले,
तर रात भएपछि सताउँछ उसलाई यही जिन्दगी का अनेक कुराले ।
सबैसँग भएर पनि एक्लै भइरहेको हुन्छ ऊ ।
कहिलेकाही त बोझ लाग्छ उसलाई जिन्दगी पनि
कति परिवारकै भरमा बाँच्नु , कति माग्दै जानु आमालाई
बस भाडाको लागि पैसा पनि भनेर ,
कति माग्नु आमालाई बाइकमा हाल्ने तेलको पैसा पनि भनेर ।
भलै परिवारले त्यस्तो बोझका रुपमा कहिल्यै लिएका हुँदैनन ,
तर सोच त आउँछ मनमा ।
अनि यही कुराहरुले थप्दै जान्छ जिम्मेवारी थपिएको भावना।
हो यही समय हो , यही समय जहाँ आँखा अघि अनेक
बाटोहरु देखिएका हुन्छन् तर रोज्न एकदम गार्ह्यो ।
दृढ भएर एउटा बाटो आज लिन सक्यौँ
र यसमा चाहि केही गरेरै छाड्छु भन्ने संकल्पका साथ अघि बढ्न सक्यो भने
आजको संघर्षले पक्कै भोली मिठो फल दिनेछ ।