
भुवनले १० करोड माग्दै हालेको मुद्दा जितेपछि भावुक हुँदै साम्राज्ञीले के भनिन् ?
आफ्नो पक्षमा बहस गरिदिएका कानुन व्यवसायीलाई धन्यवाद दिँदै उनले भनिन्, ‘हामीले अन्ततः यो लडाइँ जितेका छौँ । अब म शान्तिको सास फेर्न सक्छु र जीवनमा फेरि अघि बढ्न सक्छु ।’
शांकन मल्ल, राष्ट्र तिमल्सिना, धृष्टि दाहाल र जयलाल भण्डारीले बहस गरेका थिए । आफ्ना लागि बहस गरिदिने, समर्थन गर्नेहरूलाई धन्यवाद दिँदा साम्राज्ञी भक्कानिइन् ।
९ साउन २०७७ मा केसीले दायर गरेको मुद्दामाथि हिजो सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश वासुदेव पौडेलको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको छ ।
यसबारे सामाजिक सञ्जालमार्फत भिडियो शेयर गर्दै साम्राज्ञीले तीन वर्षपछि आफूले न्याय पाएको बताइन् । ‘ममाथि १० करोडको मुद्दा हाल्ने व्यक्तिले मलाई आफू शक्तिशाली, पहुँचवाला र चलचित्र क्षेत्रबाट पूर्ण समर्थन रहेको भन्दै फेरि पनि बुलिङ गरेकाे थियो’, भुवनको नाम नलिई साम्राज्ञीले भनिन् ।
उदाउँदा हरेक कलाकार र महिलालाई आफ्नो आवाज दबिन नदिन उनले आव्हान पनि गरेकी छन् । साथै आसपास सधैं आफ्ना लागि उभिने मानिसहरू राख्न पनि उनले सुझाएकी छन् ।