+
Search

ताजा अपडेट +

पपुलर +

हिमालका केही कथा: शोकदेखि विजयसम्म

सजिलोपाना
२०८० श्रावण २८, आईतवार

छिरिङ ङ्योदुप लामा

साहसिक पर्यटनका क्षेत्रमा सगरमाथा अग्रस्थानमा पर्दछ । खुम्बु तिरका शेर्पाहरूका लागि सगरमाथामा हातमुख जोड्ने बाटो त हो नै सँगसँगै,  बयानै गर्न नसकिने कष्टैकष्टको भण्डार पनि हो ।

उत्तरपूर्वी नेपालको दुर्गम हिमाली सहर नाम्चे बजारमा एउटा काठको बेन्चमा बसेर मैले खाना पकाउने ग्याँसका सिलिन्डर बोकेर मुलबाटो तिर लम्कँदै गरेका खच्चरका लस्करलाई नियालेँ ।

घाम डुब्नै लागिसकेको थियो । सफा आकाशलाई हेर्दा पश्चिमतिरबाट सहरलाई घेर्ने कोङ्गदे री अनि त्यस्तै पूर्वबाट घेर्ने थामेसेर्खु छर्लङ्गै देख्न सकिन्थ्यो ।

हिमाली दृश्य शेर्पा समुदायको बाहुल्यता रहेको नाम्चे बजार, जसलाई खुम्बु क्षेत्रको प्रमुख केन्द्र नै मानिन्छ © एडिसर्न फाइनडे चुटिकाकोर्न/गेटि इमेजेज्

नाम्चे बजार ‘सगरमाथाको घर’ भनि चिनिने खुम्बु क्षेत्रकै सबैभन्दा ठूलो सहर हो । यहीँका बासिन्दा तेन्जिङ नोर्गे शेर्पाले एड्मन्ड हिलारीसँग पहिलोपटक सगरमाथामा पाइला टेकेदेखि नै यो क्षेत्र पर्यटन क्षेत्रमा सशक्त बनेको हो ।

उक्त ऐतिहासिक आरोहण यता यहाँका कैयौँ शेर्पाहरूले अन्य आरोहणमा भरिया, भान्सेदेखि लिएर पथप्रदर्शकजस्ता भुमिका निर्वाह गरिसकेका छन् । शेर्पा समुदायले नेपालको हिमाल आरोहण तथा ट्रेकिङका क्षेत्रमा पुर्‍याएको योगदानका कारण ‘शेर्पा‘ शब्द आजको दिनमा पर्वतारोही समूहको पर्यायका रुपमा चिनिन्छ ।

विदेशी आरोही एवम् सौखका लागि बिदामा घुम्न आउनेहरूका कारण छायाँमा परेका शेर्पाका कथाहरूलाई म दुनियाँलाई सुनाउन चाहन्थेँ ।

एभरेष्ट बेसक्याम्प लुक्लामा अवस्थित तेन्जिङ हिलारी एअरपोर्टमा अवतरण गर्दै गरेको सानो विमान © डाक्टर जे/गेटि इमेजेज

पर्वतारोहिहरूका लागि उपयुक्त सहर

नाम्चे पुग्ने सबैभन्दा लोकप्रिय माध्यम भनेको काठमाडौंबाट लुक्लामा रहेको तेन्जिङ हिलारी विमानस्थल (२,८६० मि)का लागि उड्ने सानो प्रोपेलर प्लेन हो । केवल ५२७ मिटर लामो रनवे रहेको यस विमानस्थललाई दुनियाँकै सबैभन्दा खतरनाक विमानस्थलका रुपमा पनि चिनिन्छ ।

रनवेको दक्षिणतर्फ रहेको ६०० मिटर गहिराईको ठाडो भिर अनि उत्तरतिरको त्यस्तै ठाडो पहाडले पाइलटलाई सानोभन्दा सानो त्रुटिको समेत मौका दिँदैन । यस भेगमा कतै मोटर गुड्ने बाटा छैनन् अर्थात् यताउती गर्न खुट्टा बलिया पार्नुको विकल्प छैन । लुक्लादेखि नाम्चेसम्म तल र माथि, दायाँ अनि बायाँ गर्दै फैलने १९ कि.मि. लम्बाई भएको घुमाउरो ट्रेकिङ मार्गअन्तर्गत घना सल्ला र गुराँसले ढाकेका तारेभिर देखि समथर शेर्पा बस्ती पर्दछन् ।

बाथरुममा लगाउने टाइलदेखि खाने चामलसम्म काठमाडौंबाट जहाजमा हालेर ल्याइ भरिया र जनावरका पिठ्युँका भरमा घरघर पुर्‍याउनुपर्ने यो सहर मैले नपत्याउँदो ढङ्गले सुविधासम्पन्न पाएँ । सहरका साँघुरा गल्लीहरूमा लस्करै रहेका क्याफेहरूमा क्यापुचिनोदेखि लिएर ताजाताजा पेष्ट्रीसमेत पाइन्छन् । त्यस्तै, रेष्टुरेन्टहरूमा पनि पिज्जा, बर्गर, बिर्यानी, पुटिन इत्यादी सजिलै पाइन्छ । बैंकदेखि लिएर क्लिनिकजस्ता अत्यावश्यक सेवा पनि उपलब्ध छन् यहाँ । नक्कली नर्थ फेसका साथसाथै औसत नेपालीको दुई महिनाको कमाईले समेत नभ्याउने नम्बरी ज्याकेट पनि यहाँका दोकानहरूमा भेटिन्छन् ।

लुक्लादेखि नाम्चेसम्म तल र माथि, दायाँ अनि बायाँ गर्दै फैलने १९ कि.मि लम्बाई भएको घुमाउरो ट्रेकिङ मार्ग अन्तर्गत घना सल्ला र गुराँसले ढाकेका तारेभिरदेखि समथर शेर्पा बस्ती पर्दछन् © मोनिका देउपाला/लोनली प्लानेट

शेर्पा बारिस्ताका संचालक पासाङ्ग छिरिङ्ग शेर्पा भन्थे, “लुक्ला एअरपोर्टमा सामान झरेपछि तिनलाई माथि ल्याई पुर्‍याउन भरिया र खच्चरको व्यवस्था गर्नुपर्छ । नाम्चेमा गरिखान सजिलो छैन तर, हाम्रा बाले गुजारा गर्न जति संघर्ष गर्नुपर्‍यो, त्यसको तुलनामा त यो केहि पनि होइन ।” उनको क्याफेमा स्वादिलो ब्लुबेरी पाई र चकलेट मड केक पनि पाइने रहेछ । पासाङ्गका बाले पनि उ बेलाका आफ्ना दौँतरीहरूले झैँ भारी बोक्ने काम गर्ने गरेका रहेछन् ।

“त्यतिबेला पैसाको मुख देख्न भारी बोक्नुको विकल्प थिएन । त्यही दु:खले जोडेको सम्पत्तिकै आधारमा आज तपाईं हामीले देखेको नाम्चे उभिएको छ,” उनले भने ।

शेर्पा बारिस्ताका संचालक पासाङ्ग छिरिङ्ग शेर्पा © मोनिका देउपाला/लोनली प्लानेट

कुनैबेला पर्वतारोहण नै यस सहरको गरिखाने माध्यम रहेकोमा आजभोलिका नयाँ पुस्ताले भने यसै उद्योगभित्र पनि लाभान्वित हुने अरू मार्ग पहिल्याइसकेका छन् । उदाहरणका लागि होटल, लजको व्यवसायलाई लिन सकिन्छ । यो व्यवसाय लाभदायक मात्र नभई सुरक्षित पनि छ ।

हिमालको गहिराइमा

नाम्चेमा दुई दिन बिताएर म थामेतेङ्ग गाउँतर्फ पदयात्रामा निस्किएँ । बाटो सुरुमै ठाडो उकालो भएर जाने रहेछ । अलि माथि पुगेपछी गुराँसका अग्ला रुख सकिएर जुनिपरका लामा-लामा हरिया लहरा देखिन थाले । म हिँड्दाहिँड्दै रुख भेटिने ठाउँको अन्त्यतिर पुग्न लागेछु ।

म खासमा आङ्ग निमि शेर्पालाई भेट्ने आशमा त्यसतर्फ जाँदै थिएँ । पर्वतारोहणले पहिलैदेखि खुम्बुवासिलाई रोजगारी त दिँदै आएको छ तर, उनीहरूले त्यसको ठुलै मूल्य पनि चुकाउनुपरेको छ । सगरमाथा आरोहण गर्ने क्रम सुरू भएदेखि यताको १०० वर्षजतिमा जम्मा ३१२ जनाले ज्यान गुमाइसकेका छन् । तीमध्ये ९९ अर्थात् झण्डै एक तिहाई सङ्ख्या शेर्पाहरूकै रहेको छ ।

अप्रिल २०१४ मा खुम्बुमा आएको भीषण हिमपहिरोमा परि ज्यान गुमाएका सोह्रजना शेर्पामध्ये आङ्ग निमिका श्रीमान् पनि थिए । चार सन्तानका पिता उनले आफ्नो मृत्युको समयसम्म आरोहण निर्देशकका रुपमा ६ वर्ष काम गरिसकेका थिए ।

ठाडा ठाडा भीरमाझ अवस्थित थामेतेङ्ग गाउँ © मोनिका देउपाला/लोनली प्लानेट

म थामे गाउँ (३८०० मि) आइपुगेँ । म त्यो रात त्यहीं बिताउँदै थिएँ । समथर उपत्यकामा फैलिएको त्यो गाउँ कोङ्गदे रि (६,१८७ मि) र टेकाङ्गपोचे (६,५५० मि) हिमालका फेदमा अवस्थित छ । थामेदेखि थामेतेङ्ग केवल २० मिनेटको पैदल दुरिमा रहेको छ ।

थामे र थामेतेङ्ग गाउँ छुट्याउने पहाडको टुप्पोमा पुगेपछी मलाई त्यहाँ कामीरिता शेर्पा भनिने एक जनाले आङ्ग निमिको घर जाने बाटो देखाइदिए । ४० वर्षीय कामीरिताले १६ वर्षको उमेरदेखि भरियाका रुपमा काम गर्दै आएको र गत अप्रिलमा तेह्रौँपटक सगरमाथा आरोहण गरेको बताए । वसन्त (मार्च-मे) र शरद (अक्टोबर-नोभेम्बर) सगरमाथा चढ्ने समय हो । यो बाहेक अन्य समयमा कामीरितालगायत अन्य शेर्पाहरू हिमालबाट गाउँ झर्छन् अनि खेतीपाती र चौँरी हेर्ने काममा परिवारलाई सघाउँछन् ।

आङ्ग निमिको घर पुग्दा ढोकामा ताल्चा लगाएको देखेर मेरो मुटु भारी भयो । केहिले उनी चौँरी चराउन माथिल्ला गाउँतिर गएकी हुनसक्ने बताए ।

चुपचाप उभिएकी आङ्ग निमि © मोनिका देउपाला/लोनली प्लानेट

त्यत्तिकैमा मैले लहरा पन्छाउँदै घर पछाडिको ठाडो उकालो चढ्दै गरेको कसैको पदध्वनी सुनेँ । ती आङ्ग निमि नै रहिछन् । उनले हिमाली भेगमा बस्नेहरूले लगाउने कैलो रङ्गको पारम्परिक चुपा लगाएकी थिइन् ।

उनीसँग बोल्ने फुर्सद रहेनछ । नाम्चेमा रहेको विद्यालयमा पढ्ने उनको छोरो बिरामी परेको खबर पाएकी रहिछन् । गाउँमा नेटवर्क नआउने हुँदा अन्तै गएर फोन गर्नुपर्ने उनले बताइन् । ‘साह्रै भएको रहेछ भने आफू अहिले नै नाम्चे जानुपर्ने’ बताउँदै उनी निस्किइन् । चार घण्टाको पैदल बाटो अनि त्यसमाथि साँझ पनि पर्न लागिसकेको जानेर मैले सोधेँ, “नाम्चे जान अबेला भईसकेन र ?” तर मैले यति भनि नसक्दै उनले डाँडा काटिसकेकी थिइन् ।

पछि उनीसँग मेरो भेट एउटा लजमा भयो । फोन गर्न भनेर त्यहाँ आएकी उनी आँखाभरी आँसु पारेर उभिरहेकी थिइन् । मलाई देख्नासाथ आँसु पुछ्दै मुस्कुराइन् अनि छोरोलाई हल्का ज्वरो मात्र आएको र भोलिपल्ट बिहानसम्म आरामले नाम्चे पुग्न मिल्ने कुरा बताइन् ।

सगरमाथा क्षेत्रका विधवाहरूलाई भेट्दा

लजको उज्यालो डाइनिङ्ग हलमा मिठो दूध चियाको चुस्किसँगै हामी कुराकानी गर्दै थियौँ । आङ्ग निमिले कसरी आफुले एक्लै आफ्ना २०, १८, १६ र १४ वर्षका छोराहरूलाई हुर्काइन् भन्ने कुराको बेलिबिस्तार सुनाउँदै थिइन् ।

आङ्ग निमिले श्रीमानको मृत्युपछी आलु बेचेकै भरमा चार भाइ छोरा हुर्काइन् © मोनिका देउपाला/लोनली प्लानेट

“मलाई बुढाले त्यो काम गरेको कत्ति पनि मन परेको थिएन । हरेक दिन उहाँ काममा निस्कन लाग्दा मलाई ऐँठन हुन्थ्यो । उहाँलाई केही हुने हो कि भन्ने चिन्ताले मलाई रातभर निदाउन दिँदैनथ्यो,” उनले भनिन् ।

श्रीमानको मृत्युपछि विमा रकम स्वरुप उनले दश लाख रुपैयाँ पाएकी रहिछन् । उनका श्रीमानले काम गर्ने ‘अल्पाइन एस्सेन्ट’ भन्ने कम्पनिले उनका सन्तानको पढाई खर्च पनि व्यहोर्दै आएको रहेछ । उनको श्रीमानको मृत्यु भएको त्यस दुर्घटनापश्चात् नै सरकारले त्यस क्षेत्रमा काम गर्ने शेर्पाहरूको अनिवार्य न्युनतम बीमा रकम दश लाखबाट बढाएर पन्ध्र लाख बनाएको हो ।

हिमालमाथि फरफराईरहेका प्रार्थना ध्वज © मोनिका देउपाला/लोनली प्लानेट

आफ्नो श्रीमान् नरहेको क्षति आङ्ग निमिका परिवारको लागि यति अपूरणीय रह्यो कि यत्तिका सहयोगका बावजुद पनि घर चलाउनका खातिर  दुर्गम पहाडमा जे काम पाइन्छ त्यही गरेर पैसा कमाउनुको विकल्प उनीसँग थिएन ।

“म आलु फलाउँछु र बेच्छु, माथितिरबाट घाँस काटेर ल्याएर गाईवस्तु पाल्ने घरमा बेच्छु अनि आफ्ना चौँरीको पनि स्याहारसुसार गर्छु । हिमाल चढ्ने मौसममा म पनि आफ्ना चौँरीका बथानलाई भारी बोक्ने काममा लगाउँछु । जीवन कष्टकर छ तर, यो भेगमा यस्तो हुनु के नौलो कुरा भयो र ? ” उनले भनिन् ।

आफूले एक्लै संचालन गर्दै आएको लजमा उभिएकी आङ्गरिकु भन्छिन्, “विगत दुई वर्षदेखि पर्यटकको सङ्ख्या घट्दै गएकाले साह्रै गाह्रो परेको छ” © मोनिका देउपाला/लोनली प्लानेट

थामेबाट बिहान अबेर निस्केको म दिन ढल्नै लाग्दा थामो आइपुगेँ । ७० वर्षीया आङ्गरिकु शेर्पाले चलाएको माउन्ट एभरेष्ट क्याम्प २ लजमा नास्ता गरेँ । उनका श्रीमान् पनि २०१४ को सोही हिमपहिरामा परि हराइरहेका रहेछन् ।

रिटायर भएर श्रीमतीसँगै लज चलाउने सोचिरहेका उनको त्यो अन्तिम यात्रा थियो ।

आङ्गरिकु अहिले एक्लै लज चलाइरहेकी छन् । पकाउनेदेखि लिएर सरसफाइसम्म सबै आफैँ गर्नुपर्छ उनले । घर बाहिरको करेसामा सिजन अनुसारका सागसब्जी फलाउँछिन् । त्यस दिनको खानाका लागि उनले करेसाबाटै गाँजर र पालुङ्गोको साग टिपेर ल्याएर तरकारी पकाइन् ।

श्रीमानको मृत्युअघि मिलेर चलाउँदै आएको लजको भान्सामा आङ्गरिकु © मोनिका देउपाला/लोनली प्लानेट

“बुढाबुढी मिलेर गेष्टहाउस चलाउने सोचेका थियौँ तर, अहिले म यसरी एक्लो भएँ । कहिलेकाहीँ त साह्रै शून्य लाग्छ,” यति भन्दै उनी रुन थालिन् । “लजमा मान्छे आइरहुन्जेल त सजिलै हुन्छ तर, अचेल पर्यटकको सङ्ख्या निकै घटेको छ । त्यसैले धेरै फुर्सद हुन्छ अनि उहाँको साह्रै याद आउँछ तर, बसेर काल पर्खिने बाहेक अरु उपाय नै के छ र, है ?”

आङ्गरिकुको लजदेखि पारीपट्टि रहेको तासी देले रेष्टुरेन्ट एण्ड लजमा मैले ल्हामो छोकि शेर्पालाई भेटेँ । उनका श्रीमानचाहिँ २०१० को बारुँत्से हिमालको हिमपहिरोमा परि बेपत्ता भएका रहेछन् । १९ पटक सगरमाथा चढिसकेका त्यस्ता पाका आरोहिको मृत्युले पुरै खुम्बुलाई नै झटका लागेको थियो । बालककालमै बाबू गुमाएका उनका छोराहरू अहिले २४ र २२ वर्षका भए ।

गेष्ट हाउसको ढोकामा बसिरहेकी ल्हामो छोकी © मोनिका देउपाला/लोनली प्लानेट

शान्त स्वभावकी मृदुभाषी ल्हामोले कुराकानी सुरु गर्नुअघि ‘केही पिउनु कि पिउनु’ भनेर साह्रै जिद्दी गरिन् । श्रीमानको मृत्युबारे धेरै प्रश्न नगर्न पनि उनले मलाई आग्रह गरिन् । मैले पनि घाउ आलै रहेको बुझेर धेरै जोड गरिनँ ।

श्रीमान जिवित छँदा उनको परिवार काठमाडौंमा बस्ने गर्थ्यो । छोराहरू उतैको विद्यालयमा पढ्थे । अहिले भने उनी गाउँमा लज चलाएर अनि अफ-सिजनमा आलु बेचेर जीविका चलाउँछिन् । २०१८ मा छात्रवृत्तिमा अमेरिका गएका छोराले पनि कहिलेकाहीँ खर्च पठाउँछन् उनलाई ।

पर्वतारोहण पेसाले आफ्नो समुदायमा निम्त्याएको विनाशबारे सोचेर चिन्तित भएकी ल्हामो छोकी © मोनिका देउपाला/लोनली प्लानेट

फर्कनुअघि मैले ल्हामोलाई पर्वतारोहण पेसाबारे सामान्य रुपमा प्रश्न गरेँ ।

“बाध्यताले मानिसलाई यस पेसामा झोसिदिन्छ भन्ने मैले बुझेकी छु । यसले परिवारमा जून किसिमको मानसिक एवम् भावनात्मक पीडा र असह्य वेदना पुर्‍याउँछ नि, त्यो सोच्न सम्म पनि सकिँदैन”, उनले भनिन् ।

शोकदेखि विजयसम्म खुम्बुको खुम्जुङ्ग गाउँमा पनि निमा डोमा शेर्पाजस्ती महिला छिन् । मैले खुम्बुको यात्रामा निस्किनूअघि उनलाई काठमाडौंमा भेटेको थिएँ । २०१४ को त्यस विनाशकारी हिमपहिरोमा परि ज्यान गुमाउनेमा उनका श्रीमान पनि रहेछन् ।

“उहाँको मृत्युले मलाई टुक्राटुक्रा पारिदियो । कति नेपाली तथा विदेशी पत्रकारहरूले मेरो अन्तर्वार्ता लिए । मैले त्यतिबेलै अब कहिल्यै हिमाललाई हेर्दा पनि नहेर्ने मनसाय बनाएकी थिएँ”, उनले भनिन् ।

श्रीमानको मृत्युको दुई वर्षपछि सन्तानसँग निकट हुन निमा काठमाडौं आइन् । पर्वतारोहण बाहेकका क्षेत्रमा कामै नपाएपछि उनले बाध्य भएर २०१७ मा ट्रेकिङ्ग गाइडका रुपमा काम गर्न थालिन् ।

“त्यही काम गर्दागर्दै मैले आफ्ना श्रीमानको सगरमाथा चढ्ने सपना सम्झेँ । सपना पूरा गर्न नपाइ उहाँ जानुभयो । उहाँकै स्मृतिमा सगरमाथा चढ्ने अठोट गरेर म सोको तयारीमा लागेँ”, उनले भनिन् ।

श्रीमानको अधुरो सपना पूरा गर्न कटिबद्ध निमा डोमा शेर्पा आफूजस्तै पीडाबाट गुज्रेकी अर्कि एकजना महिलासँग मिलेर २०१९ को मे महिनामा सगरमाथा चढिन्  © मोनिका देउपाला/लोनली प्लानेट

महिनौँको भौतिक तथा मनोवैज्ञानिक तालिमपश्चात २०१९ को मे महिनामा आफूजस्तै पीडाबाट गुज्रेकी अर्कि महिलासँग मिलेर उनी शिखर चुम्न सफल भइन् ।

नाम्चे बसाईको अन्तिम दिन म बिहान सबेरै उठेँ र अन्तिमपटक सहर घुम्न निस्किएँ । प्राय: दोकानहरू बन्द थिए । अर्धनिद्रामै रहेका सबैजना पर्यटकको स्वागत गर्न रेष्टुरेन्ट सजाउँदै थिए । नजिकैको साँघुरो गल्लीमा एक वृद्धा जुनिपरका पात बटुलेर आगो बाल्दै थिइन्, एकछिन त्यहिँ उभिएर हेरिरहेँ- त्यो शेर्पाहरूको नित्यकर्म नै रहेछ ।

थामे गुम्बामा पढ्ने एउटा भिक्षु बालक © मोनिका देउपाला/लोनली प्लानेट

लुक्ला जाँदै गर्दा बाटामा मेरो भेट विद्यालयबाट फर्कँदै गरेका केही शेर्पा केटाहरूसँग भयो । ठूलो भएर के बन्छौ भनेर सोध्दा एउटाले डाक्टर त अर्काले शिक्षक भन्यो । त्यस्तै, अर्काको न्युयोर्क जाने सपना रहेछ अनि अर्को एउटाले चाहिँ ‘खितिती हाँस्दै पाइलट बन्छु’ भन्यो । एउटाले पनि आरोहण पेसामा लाग्छु नभनेको देखेर दङ्ग पर्दै म आफ्नो बाटो लागेँ ।

(लोनली प्लानेटमा प्रकाशित यस यात्रा संस्मरणलाई निशान अधिकारीले अनुवाद गरेका हुन् ।)

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा