बाजुराको पहिचान खौँ मेला

राजेश पाण्डे

बाजुरा जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँमा प्रत्येक वर्ष परापूर्वकाल बाट साउनको अन्तिम दिन देखि लगातार पाँच दिन सम्म खौँ मेला मनाइने गरिन्छ । परापूर्वकाल देखि चलिआएको यो मेलाले बाजुराको कला, संस्कार, सांस्कृति र परम्पराको पहिचान मात्र नभई त्यसको भावी दिशा समेत निर्धारण गरेको देखिन्छ । इतिहास हर्ने हो भने खौँ मेलालाई खाँऊ मेला भन्ने गरेको पनि देखिन्छ । वर्ष भरिको थकान मेटाउदै आफन्त, ईष्टमित्र, दाजु भाई, दिदि बहिनीहरु सँग दुःख सुखका भलाकुसारी गदैँ आफु सँग भएको खानेकुरा सँगै बसेर खाने गरिन्छ । धिम गाउँमा जग्गा जमिन प्रसस्त भएता पनि त्यहाँका मानिसहरुलाई भोकमरीले सधैँ सताउने गर्दथ्यो ।

कुनै समयमा घनाघोर वर्षा हुन्थ्यो भने कुनै समयमा बर्षा नै नहुने भएपछि उत्पादमा कमि हुने भएकाले सधैँ भोकमरी हुने गर्दथ्यो । सती युगमा सत्यता चल्ने भएकाले देवी र देवताले बोलेका हरेक कुराहरु सत्य हुने गर्दथ्ये । त्यो समस्याको समाधान अर्थात् आवश्यकता अनुसार वर्षा निकाल्ने र बालिनाली सपार्ने भएकाले परापूर्वकाल देखि धिम गाउँका मानिसहरुको र बालिनालीको रक्षाका लागि अन्नपानिको देवता भनेर चिनिने बानादेव देवताको पुजा आर्चना गर्ने गरिन्छ ।

यस पर्वका लागि साउन १५ गते देखि तयारी गर्ने गरिन्छ । यसै दिन देखि विभिन्न देवताका मठ मन्दिरमा बाजा बजाउने, महिलाले देवताका चाँर्चि अर्थात मागल गाउने, पुरुषले देउडा खेल खेल्ने गरिन्छ । आवश्यकता अनुसार विभिन्न सामाग्री जुटाउने देखि लिएर खौँ मेलालाई सब्य र भब्य बनाउन विभिन्न जात जाति अनुसार काम गर्ने अधिकार छुट्याईने गरिन्छ । धिम गाउँमा रहेका सम्पुर्ण देवता, जानमान, समाज सेवी लगाएत सम्पुर्ण गाउँ बासीहरु सभाखलामा सँगै बसेर खौँ मेलाका लागि गाउँले चैन अर्थात् नियम बनाउँने गर्दछन ।

वडा दशैँ भन्दा पनि ठुलो चाड पर्वका रुपमा मनाईने यस मेलामा नयाँ लुगा लगाउने, टाढाटाढा छरिएर रहेका आफन्त जम्मा भएर रमाउने गरिन्छ । यस मेलामा बाजुरा, हुम्ला, मुगु, अछाम र कालिकोट लगाएतका जिल्ला बाट मानिसहरु आउने गर्दछन । मुजेरा खेल, देउडा खेल, पञ्चे बाजा र झाँक्री नाच यस मेलाका मुख्य आकर्षक हुन् ।

राँगो लखेट्ने दिन

घर घर बाट पोखलमाना ल्याएर मन्दिरमा जम्मा भई मख्य देवता बानादेवको पुजा गर्ने गरिन्छ । लेखमा गएका गोठाला पनि त्यसै दिन गोरु, भैसा ल्याएर पुजा गर्ने समयमा पुग्ने गर्दछन । घरको जानमानले आफु सँग भएको दुध, दही पनि ल्याएर आउने गर्दछन भने अरुले चौँथो दिन सम्मका लागि गोरु हान्ने लौँडा र गोरु ल्याएर अलि ढिलो पुग्ने गर्दछन ।

बेलुकाको १ बजे देखि बानादेव देवताको पुजा आजा गरिन्छ भने लेख बाट गोठाला पुगे भने रागो लखेट्ने तयारी गरिन्छ । रागो लखेट्ने जिम्मा लवार जातिलाई दिएकाले उनिहरुले पुरै गाउँमा घुमाउने गर्दछन । आफु अथात् आफ्नो घर परिवारमा भएको रोग बेथा हट्ने विश्वासका साथ चामल, सिमि, मास, ढँटेलो, मार्से लगाएत अन्य अन्न र फुलहरु मिसाएर कपडामा बाधेँर घरका सबै सदस्यहरुको शरिरमा मन्सेर राँगाको शिरमा त्यो मासचामल हाल्ले गरिन्छ । पुरै गाउँ घुमाई सकेपछि कोदो रोपेको खेतमा लिएर सबै मिलेर लखेट्ने गरिन्छ । उक्त खेतहरुको अन्त्यमा पुर्याएर रागोको बलि दिइन्छ । यसो गर्दा अन्नपानि सुप्रिन्छ भन्ने विश्वास रहेको छ । राँगोको बलि दिसकेपछि सबै मन्दिर तिर फर्किने गर्दछन । मन्दिरमा पुग्ने बित्तिकै मन्दिरको अगाडी पुरुषको देउडा खेल र डाँडाखलामा महिलाको खेल खेल्ने गरिन्छ ।

पहिलो दिन

यो दिनलाई गाउँबासीहरुले पहिलो खौँ भन्ने गर्दछन । विहान सबेरै आफ्नो गोठबाट गोरु निकालेर पहाडा बनमा लिने गरिन्छ । साउन १५ गते देखि बन्द गरेको पहाडा बन खौँ मेला कै लागि पहिलो खौँ मेलाका दिनमा खुलाउने गरिन्छ । गोरु बनमा पुर्याएर खेल्लेपाटामा केटाहरुले देउडा खेल्ले गर्दछन । सरु खान रोख्न र लोट्न बाट बचाउनका लागि बानादेव देवताको अगाडी पछाडी हिट्ने बाहन कोब्ब्रीखालले गोरु हेर्छ भन्ने विश्वास रहेको छ ।

त्यस्तै महिलाहरुको देउडा खेल खानेपानिको धारा रहेको ठाउँ धुपागाड र कालिका देवीको मन्दिर रहेको ठाउँ डिङ्ग्रीमा पनि देउडा खेल खेल्ने गरिन्छ । त्यस्तै पुरुषको देउडा खेल बानादेव देवताको मन्दिरमा हुने गर्दछ । गोरु बनमा लगाएर गोठाला घरमा नपुगे सम्म र बानादेव देवतालाई जोमरा नचडाए सम्म घरमा बसेर खाना खान पाईदैन । यदि खानैपर्यो भने आँगनमा गएर अर्थात् घर भन्दा टाढा गएर खाने गरिन्छ । आएका पाहुनालाई खाना खुवाएर बेलुकाको ४ बजेतिर नेजा ल्याउने तयारीमा जुट्ने गरिन्छ ।

नेजा उठाने अधिकार बोल्ढिकका ब्राह्मणको (पाण्डे) भएकाले उनिहरुले सुरुमा नेजा उठाउने गर्दछन । १५ मिटर भन्दा लामो बाँसको टाँगो र जमरा बाँधेर भरिएको नेजा हुनाले समात्न अलि गारो हुने भएकापछि सबै मिलेर लिने गर्दछन । अगाडी पञ्चे बाजा र पछिडी मुजेरा खेलको बिचमा धामी झाँक्री र जान मानलाई सम्मान गर्दै बानादेवको देउरा बाट मन्दिर सम्म नेजा लिने गरिन्छ । मन्दिर नजिकै रहेको गोलखाडाबाट बानादेव देवतको अवतार भयो भने एक हातले आफै नेजा लिने गर्दछ । बानादेवको मन्दिरमा नेजा पुर्याएर बानादेव देवताका धामी झाँक्रीहरु पन्चे बाजा सँगै विभिन्न तरिकाले नाच्ने गर्दछ । एकातिर पुरुषको देउडा खेल हुन्छ भने अर्को तिर पुरुषकै मुजेरा खेल खेल्ने गरिन्छ ।

दास्रो दिन

यो दिनलाई गाउँबासीहरुले माझ खौँ भन्ने गर्दछन । पहिलो दिन जस्तै गरेर खेल्नेपाटामा केटाहरुको देउडा खेल, धुपागाड, डिग्रीमा महिलाको देउडा खेल र बानालेव देवताको मन्दिरमा पुरुषको देउडा खेल खेल्ने गरिन्छ । सरु खान रोख्न र डाँडा बाट लोट्न बाट बचाउनका लागि बानादेव देवताको अगाडी पछाडी हिट्ने बाहन कालछरीले गोरु हेर्छ भन्ने विश्वास रहेको छ । बिहानको खाना खाएर सबेरै लवासुर देवताका नेपाली ९घन्ट० बोकेर आएका धामी झाँक्री र हिमाली गाउँपालिका वडा नम्बर ४, ५ र धिम गाउँमा रहेका मल्ल र साही परिवारलाई पञ्चे बाजाका साथ सम्मान गरिन्छ । मष्टा देवता सँग आएका हिमाली गाउँपालिका वडा नम्बर ७ बाँधु गाउँका बुद्दीजिवीलाई पनि सम्मान गरिन्छ त्यस्तै गरेर विभिन्न देवताका धामी झाँक्रि, बुद्दीजिवी, विभिन्न ठाउँ बाट आएका पाहुना, स्टमित्र, देउडा खेलाडीहरुलाई पनि पञ्चे बाजा बजाएर सम्मान गर्ने गरिन्छ । पहिलो दिन जसरी नै नेजा ल्याउने, मुजेरा नाच खेल्ने, विभिन्न देवताका झाँक्री को नाच हेर्ने, महिला र पुरुषहरुले देउडा खेल्ने गरिन्छ भने विभिन्न ठाउँमा पिङ, भलिबल जस्ता विभिन्न आधुनिक किसिमका खेलहरु पनि खेल्ले गरिन्छ ।

तेस्रो दिन

यो दिनलाई गाउँबासीहरुले छाड्या खौँ भन्ने गर्दछन । सरु खान रोख्न र डाँडा बाट लोट्न बाट बचाउनका लागि बानादेव देवताको अगाडी पछाडी हिट्ने बाहन घुडाछडीले गोरु हेर्छ भन्ने विश्वास रहेको छ । पहिलेको दिन जसरी नै बिहान केटाहरु, महिलाहरु र पुरुषहरुले देउडा खेल खेल्ने गर्दछन भने खाना खाएर टाढा बाट आएका विभिन्न देउडा खेलाडीलाई पक्ष बिपक्ष बनाई भिडाइने गरिन्छ । बेलुका तिर पहिलो दिन जसरी नै नेजा ल्याउने, मुजेरा खेल्ने, पञ्चे बाजा बजाउने, विभिन्न देवताका धामी झाक्रीको नाच हेर्ने, महिला र पुरुषले देउडा खेल्ने गरिन्छ भने विभिन्न ठाउँमा पिङ, भलिबल जस्ता विभिन्न आधुनिक किसिमका खेलहरु पनि खेल्ले गरिन्छ । गाउँले, विभिन्न ठाउँ बाट आएका पाउना, आफन्त दिदि, बहिनिहरु कोहि आफै विभिन्न खेलहरु खेल्ले गर्दछन भने केहि विभिन्न खेलहरु हेरेर रमाईरहेका हुन्छन ।

चौँथो दिन

यो दिनलाई गाउँबासीहरुले बासी खौँ भन्ने गर्द छन । महिलाको देउडा खेल पानि भर्ने धारा रहेको ठाउँ धुपागाड, सभा खला र कालिका देवीको मन्दिर रहेको ठाउँ डिङ्ग्रीमा पनि देउडा खेल खेल्ने गरिन्छ । त्यस्तै आधुनिक खेलहरु पनि धमाधम खेल्ले गरिन्छ । खाना खाएर सबेरै टाढा बाट आएका विभिन्न देउडा खेलाडीलाई पक्ष बिपक्ष बनाई भिडाइने गरिन्छ । विभिन्न ठाउँमा धम्सा धम्सी पुरुषको देउडा खेल, महिलाको देउडा खेल, मुजेरा खेल र आधुनिक खेल खेलिरहेका हुन्छन । यि खेलहरु हेर्न र खेल्न बेक्लै रमाईलो हुने गर्दछ ।

पाचौँ दिन

यो दिनलाई गाउँबासीहरुले पाहुँनाको सम्मान गर्ने दिन भन्ने गर्दछन । विभिन्न ठाउँ बाट आएका देउडा खेलाडीलाई सम्मान स्वरुप पुरस्कार वितरण गदै आफन्त र पाहुँनाहरुलाई सम्मान गर्ने गरिन्छ । सुख दुःखका कुरा, भलाकुसाली गर्दै खुसी हुदै, देउडा खेलाडी, पाहुँना र आफन्तहरुलाई सम्मान गर्दै पठाईन्छ ।

संचारको पहुँज बाट टाढा रहेकाले यो पर्वले राष्ट्रिय रुपमा आफ्नो पहिचान बनाउन नसकेपनि यस पर्वले प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा समाजका सबै अवयवमा अन्तरधुलित हुँदै समाजको चरित्रलाई अगाडी बढाइरहेको छ । मानिसहरु सँग रहेका ज्ञान, सीप र क्षमता बाट समाजलाई गतिशिल बनाउने सशक्त औजार भनेकै कला र संस्कृति नै हुन् ।

खौँ पर्वले एकातिर बाजुराको पहिचान बनाएको छ भने अर्को तिर मानिसहरुका कला, सिप र क्षमतालाई मजबुत बनाउने अबसर प्रदान गरेको छ । यो पर्वको प्रचार प्रसार गरी कला, सिप र क्षमताको विकास गर्दै खौँ मेलाको यथार्थपन झल्काउन सकियो भने यो खौँ मेलाले राष्ट्रिय रुपमा समेत पहिचान बनाउने देखिन्छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्