+
Search

ताजा अपडेट +

पपुलर +

विद्यालयमा खोजिंदै पोखरेली रंगमञ्चको अर्को पुस्ता

सजिलोपाना
२०८० भाद्र २७, बुधबार

पोखरा । पोखरा हिलप्वाइन्ट मावि कक्षा ७ मा पढ्ने पवन गुरुङ यसअघि न कहिले नाटक खेलेका थिए न कहिल्यै थियटर छिरेका नै । केही फिल्म हेरेका उनलाई नाटकबारे थाहै थिएन । नाटकघर कस्तो हुन्छ र नाटक कसरी गरिन्छ भन्ने उत्सुकता भने थियो ।

हिलप्वाइन्टले स्कुलमा नाटक सिकाउन शिक्षक नै राखेको छ । उनले नाटक सिक्न थाले । रंगकर्मीसमेत रहेका रमेश तिमिल्सिना उनका नाट्य गुरु हुन् । पोखरामा महानगरस्तरीय विद्यालय नाटक महोत्सव हुन लागेपछि तिमिल्सिनाले पवनलाई पनि ‘रिहर्लसल क्याम्प’मा राखे । उनले आफ्नो भूमिका राम्रैसँग निभाए ।

पहिलो पटक पोखरा नाटकघरमा ‘शिलान्यास’ नाटकमा एक पात्रको भूमिका निभाएका पवन नाटक सकिएपछि प्रफुल्ल देखिए । ‘मलाई त कस्तो रमाइलो लाग्यो । पहिलोचोटि नाटक खेलेको, अब अर्को नाटक पनि खेल्न मन लाग्यो,’ उनले खुसी बाँडे ।

पोखरा थियटरको आयोजनामा बुधबारदेखि पाँचौं संस्करणको विद्यालय नाटक महोत्सव सुरु भएको छ । पवन आफ्ना साथीहरुसँग त्यही महोत्सवमा छनोट भएको नाटक देखाउन थियटरसम्म आइपुगेका थिए । उनीहरुले प्रस्तुत गरेको ‘शिलान्यास’ नाटक भीमनिधि तिवारीले लेखेका हुन् भने निर्देशन रमेश तिमिल्सिनाले गरेका छन् । यसअघि पोखरा थिएटरमै पहिलो पटक ‘करेसा कन्सर्ट’ नाटक हेरेर रंगमञ्चप्रति आकर्षित भएकी हिलप्वाइन्ट माविकी विनिता बानियाँ पनि दोस्रो पटक आफैं कलाकार भएर आउँदा मख्ख थिइन् । ‘दोस्रो पटक थियटर आएँ, अस्ति नै हेर्न आएको थिएँ, अहिले आफैं खेलें,’ कक्षा ६ मा पढ्ने उनले भनिन्, ‘मलाई त अझै अरु नाटक पनि खेल्न मन छ ।’

कुनैबेला पोखरा रंगकर्मका लागि चर्चित थियो । नाटक देखाउनकै लागि टोलटोलमा समूह गठन भएका थिए । तत्कालीन समयमा पोखरामा नाटकको यस्तो ‘क्रेज’ थियो कि नाटकबाटै आम्दानी पनि गर्न सकिन्थ्यो । पोखराकै पुरानो क्याम्पस पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख तथा शिक्षाविद् जर्ज जोन सम्झन्छन्, ‘खुला आकाशमुनि पढाइ भइरहेको पृथ्वीनारायण क्याम्पसको छानो नाटक देखाएरै संकलित रकमबाटै बनाइएको थियो ।’

करिब सात दशकअघि पृथ्वीनारायण क्याम्पसका विद्यार्थीले नालामुखमा टिकटमा नाटक देखाएका थिए । शिक्षाविद् जर्ज जोनका अनुसार त्यतिबेला सबैभन्दा बढी मूल्यको टिकट १० रुपैयाँ र सस्तो टिकटको मूल्य एक मोहर राखिएको थियो । ‘कसैले नसोचेको विद्यार्थीहरुले नाटक देखाएर एकैदिनमा १८ सय रुपैयाँ उठाए, आजको दिनमा त्यो थोरै लाग्ला,’ उनले भने, ‘तर त्यतिबेला त्यही १८ सय रुपैयाँले पृथ्वीनारायण क्याम्पसको छानो बनेको हो ।’

तर समय सधैं एउटै रहेन । ६० को दशकसम्म कुदेको पोखरेली रंगमञ्चमा एकाएक ‘ब्रेक’ लाग्यो । रंगमञ्चमा लागिरहेका कलाकार, कथाकार सबै लालापाखा लागे । ‘६० सालपछि त हामीले नाटक नै हेर्न पाएनौं भन्दा पनि हुन्छ । पोखरेली रंगमञ्च कता हरायो, हरायो,’ रंगकर्मी दिल गुरुङ भन्छन् ।

६० को दशकदेखि सुस्ताएको पोखरेली रंगमञ्चलाई फेरि ब्युँझाउने र पोखरामा नाट्य संस्कार विकास गर्ने उद्देश्यले रंगकर्मी दिल गुरुङ, परिवर्तनलगायत मिलेर २०७४ सालमा पोखराकै पहिलो थिएटर ‘गन्धर्व नाटकघर’ सञ्चालनमा ल्याए ।

थिएटरकै ब्यानरमा उनीहरुले चर्चित नाटक र कलाकार पोखरा ल्याएर राष्ट्रिय नाटक महोत्सव, अन्तर्राष्ट्रिय नाटक महोत्सव पनि गरे । तर पोखराकै पहिलो नाटक थिएटर भए पनि ६० को दशकपछि रोकिएको नाट्य संस्कार सजिलै ब्युँझिने स्थितिमा थिएन । त्यसपछि नयाँ उपाय निकाले, ‘विद्यार्थीका लागि नाटक ।’

‘नाटक देखाउने भनेर अग्रजहरुलाई मात्रै सधैं बोलाएर साध्य भएन । नयाँ कलाकार र दर्शक पनि जन्मिनुपर्‍यो नि । त्यो भनेको विद्यालयस्तरका विद्यार्थीलाई नाटक चिनाउनु नै राम्रो लाग्यो,’ पोखरा थिएटरका संस्थापक सदस्य गुरुङ भन्छन्, ‘त्यसपछि हामीले विद्यालयस्तरीय नाटक महोत्सव सुरु गर्‍यौं ।’

थिएटरले पहिलोपटक २०७६ मा महानगरस्तरीय विद्यालय नाटक महोत्सव गरेको थियो । अर्को वर्षदेखि प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव गर्‍यो । यसपटक पुनः महानगरस्तरीय विद्यालय नाटक महोत्सव गरेको हो । ‘पहिले खुला प्रतिस्पर्धाबाट छानेर नाटक देखाउँथ्यौं । तर अहिले केही फरक गरौं भनेर विद्यालयलाई हामीले नै नाटक दिएर प्रस्तुत गर्न लगाएका छौं,’ महोत्सवका संयोजक परिवर्तनले भने ।

संयोजक परिवर्तनका अनुसार नाटकमा पोखरा महानगरभरिका १४ स्कुलले आफ्नो नाटक देखाउनेछन् । त्यस्तै काठमाडौंबाट एउटा स्कुललाई अतिथि नाटक मञ्चनका लागि डाकिएको छ ।

वरिष्ठ कलाकार प्रकाश घिमिरे विद्यालयस्तरमा हुने यस्ता नाटक महोत्सवले रंगमञ्च क्षेत्रको छिटो विकास गर्न मद्दत पुग्ने विश्वास राख्छन् । ‘अहिलेको जमानामा पुराना कलाकार, दर्शक सधैं खोजेर पाइँदैन, नाटकको विकास गर्ने हो भने उत्पादन गर्ने नयाँ नै हो,’ घिमिरे सुनिन्छन्, ‘विद्यालय ओरिएन्टेड यस्ता महोत्सवले कलाकार पनि विद्यार्थी र दर्शक पनि विद्यार्थी तान्छ । यसको मतलब रंगमञ्चप्रति नयाँ पुस्ताको उदय हुन्छ ।’

कलाकार प्रमिला तुलाचन ताम्राकार लामो समय रोकिएको पोखरेली रंगमञ्चलाई एकै ठाउँमा जोड्न यस्ता महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले आजका बालबालिका नै भोलिका असल कलाकार र दर्शक भएको सुनाइन् । ‘विद्यार्थी लेबलबाटै नाटक के हो भन्ने बुझाउन सकियो भने रंगमञ्चको विकास त हुन्छ नै, कलाप्रतिको उनीहरुको नजर पनि फेरिन्छ,’ उनले भनिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा