
याक चौँरी कृषक महासङ्घ नेपाल औपचारिकता दिन राष्ट्रियस्तरको गोष्ठी आयोजना हुँदै
काठमाडौं । याक चौँरी कृषक महासङ्घ, नेपाललाई औपचारिकता दिन राष्ट्रियस्तरको गोष्ठी आयोजना हुँदैछ । नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय (MoALD) र पशु सेवा विभाग (DLS) सँगको सहकार्यमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) ले महासङ्घलाई औपचारिकता दिन दुई दिने गोष्ठी आयोजना काठमाडौंमा गर्न लागेको हो ।
गोष्ठीले याक तथा चौँरी किसानका कम्तीमा ११ वटा जिल्ला महासङ्घलाई भेला गरु महासङ्घलाई औपचारिकता दिने एवं दुई वर्षे रणनीतिक योजना तर्जुमा गर्ने लक्ष्य राखेको छ । कार्यशाला गोष्ठीमा नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, जिल्लास्तरीय भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद् (NARC), प्राज्ञिक तथा निजी क्षेत्रका प्रतिनिधिहरूको पनि सहभागिता रहनेछ ।
गोष्ठीमार्फत महासङ्घको समिति र विधानलाई औपचारिक बनाउने, जिल्ला र राष्ट्रिय महासङ्घको दुई वर्षे सहकार्यात्मक कार्य योजना (रणनीतिक योजना) बारे छलफल गर्ने, याक, चौँरी पालन र उत्पादनहरूको प्रवर्द्धनका लागि नेपाल सरकार, याक किसानहरू र निजी क्षेत्रहरू बीचको सहकार्यको सम्भावनाहरूबारे छलफल गर्ने लगायतका उद्देश्यहरू राखेको छ ।
‘हिमालका हिराहरू’ भनेर चिनिने याकले हिमाली क्षेत्रको पारिस्थितिक प्रणालीमा सन्तुलन बनाइराख्न र उच्च पहाडका समुदायहरूको जीविकोपार्जनमा सहयोग पुर्याउँदै आएको छ । इतिहासदेखि नै पहाडी क्षेत्रका मानिसहरूले दूध र दुग्धजन्य पदार्थ, मासु, ऊन र फाइबरको लागि चौँरी पालन गर्दै आइरहेको पाइन्छ । पहाडी भेगमा आइपर्ने कठिन परिस्थितिहरू, जलवायु परिवर्तनका प्रभावहरू र सामाजिक-आर्थिक परिवर्तनका कारण पछिल्ला दशकहरूमा नेपालको याक र चौँरीको जनसङ्ख्यामा क्रमिक रूपमा गिरावट आएको छ ।
सरकार र अन्य निकायहरूले नीति र लगानीको सन्दर्भमा याक संरक्षण र विकासको लागि निरन्तर खट्ने याक गोठालाहरूलाई उल्लेख्य मात्रामा ध्यान नदिएको पाइन्छ । “महासङ्घको स्थापनाले याक पालनलाई पुनरुत्थान गर्न थप नीति र लगानी सहयोगको लागि स्थानीय, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा याक कृषकहरूको आवाजलाई प्रतिनिधित्व गर्नेछ”, महासङ्घका अध्यक्ष दावा साङ्बु शेर्पाले बताए ।
महासङ्घले गर्ने क्रियाकलापहरूले वर्ष २०२६ लाई “अन्तर्राष्ट्रिय चरण क्षेत्र र पशुपालकहरूको वर्ष” को रूपमा मनाउन सहयोग पुर्याउने विश्वास इसिमोडले लिएको छ । “याकको ऐतिहासिक, सांस्कृतिक, सामाजिक र आर्थिक महत्वलाई संरक्षण गरी याक पालन तथा चरीचरणलाई प्रकृतिमा आधारित समाधानको रूपमा प्रवर्द्धन गर्नेछ”, इसिमोडका याक चौरी स्पेसलिस्ट टासी दोर्जीले बताए ।
गोष्ठीमार्फत नेपालका याक पालन गरिने क्षेत्रहरूमा याकका उत्पादनमा आधारित मूल्य शृङ्खला र सान्दर्भिक प्रविधिहरूमा ज्ञान र अनुभवहरू आदानप्रदान गर्न समेत सहयोग पुग्ने इसिमोडका रमेश तिमिल्सिनाले बताए । “याक गोठाला तथा कृषक समुदायहरू बीच आपसी समझदारी र मित्रता प्रवर्द्धन समेत हुनेछ”, उनले बताए ।
राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय, कृषि अनुसन्धान परिषद् र इसिमोडको साझेदारीमा आयोजित नेपालमा याक र चौँरी प्रवर्द्धन सम्बन्धी प्रथम राष्ट्रिय कार्यशालाले लोपोन्मुख चौँरी तथा याक पालन व्यवसायलाई संरक्षण गर्न नेपालमा पहिलो पटक याक तथा चौँरी कृषक महासङ्घ नेपाल गठन निर्णय अघिल्लो वर्ष (२०७९, जेठ) गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयको मातहतमा रहने गरी महासङ्घ गठन भएको हो ।