
ब्लड बैंकमा रगतको अभाव हुँदा समस्या
भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ रहेको भए पनि अहिले भक्तपुरमै रगत अभाव भएको छ । दसैँ सुरु भएदेखि नै रक्तदानलगायत रगत उपलब्ध हुने कार्यक्रम ठप्प भएपछि रगत अभाव भएको हो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैंकमा समेत रगतको अभाव भएको छ । रक्तदान नहुँदा रगतको अभाव चुलिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सहमहामन्त्री मनोजकुमार थापाले जानकारी दिए ।
सहमहामन्त्री थापाले भने, ‘यतिखेर देशव्यापी रुपमै रगतको अभाव चुलिएको छ । दसैँका कारण रक्तदान कार्यक्रम हुन सकेको छैन, भक्तपुरमा पनि रगतको अभाव छ, दैनिक ३० देखि ३५ पिन्ट रगत उपलब्ध गराउँदै आएका छौँ, तर माग भने दैनिक एक सय ५० पिन्टसम्म हुने गरेको छ, रगत लिन भक्तपुर आउनेलाई एक पिन्ट मात्रै भएपछि दिएका छौँ, रित्तो फर्कनु परेको छैन ।’
भक्तपुरमा रगतको माग बढेको र रक्तदान हुन छाडेपछि रक्तदाताको लिष्ट हेर्दै दातालाई बोलाएर रक्तदान गराएर संकलन गर्नु गरिरहेको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय पार्षद सुशील बस्नेतले जानकारी दिए।
उनले भने, ‘दसैँको अष्टमीदेखि दशमीसम्म मेरो बसाइ नै रेडक्रस सोसाइटी भक्तपुर कार्यालयमै भयो, रगतको माग अत्यधिक भएपछि दाताको नाम हेर्दै बोलाउँदै रक्तदान गर्न लगाइयो, हिजो बिहीबार पनि मलगायत मैले भनेर भाइ, बहिनी र साथीलाई कार्यालयमै गएर रक्तदान गर्यौँ ।’
उनका अनुसार ठूला अस्पतालमा दसैँको समयमा ठूला शल्यक्रिया नभए पनि रक्त क्यान्सरका बिरामी, दुर्घटनाका बिरामी र डेङ्गुका बिरामीका लागि रगतको माग बढेको छ । डेङ्गुका बिरामी बढ्दै गएपछि रगतको माग पनि बढ्दै गएको हो भन्दै उनले दैनिक एक सय ५० जना रगत लिन कार्यालयमै आउने र रगत माग्दै सयौँ कल फोन आउने गरेको बताए।