
प्रधान सेनापति प्रभुराम शर्मा चीन प्रस्थान
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहीबार बेइजिङतर्फ प्रस्थान गरेका छन् ।
चीन भ्रमणका क्रममा प्रधान सेनापति बेइजिङमा आयोजना हुने बेइजिङ सियाङसानको उद्घाटन समारोहमा सहभागी हुनेछन् । उनको चिनियाँ जनमुक्ति सेनाको सीएमसीका जोइन्ट चिफ अफ स्टाफ जनरल लिउ झेनलीसँग शिष्टाचार भेटघाट हुनेछ ।
चीनमा रहँदा प्रधान सेनापतिले ग्रेट वाल लगायत बेइजिङस्थित महत्त्वपूर्ण पर्यटकीय स्थलहरूको भ्रमण गर्नेछन् । उनी चीनका लागि नेपालका राजदूतले आयोजना गर्ने रात्रिभोजमा पनि सरिक हुनेछन् ।
प्रधान सेनापति संघाईको सियान सिटी तथा ग्वानझाओमा रहेको चिनियाँ जनमुक्ति सेनाका विभिन्न इकाई तथा शिक्षण संस्थाहरूको भ्रमण गर्नेछन् । उनी कार्तिक १६ गते स्वदेश फिर्ता हुने नेपाली सेनाले जनाएको छ ।
प्रधान सेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी सीताराम खड्काले कायममुकायम प्रधान सेनापति भई कार्यभार सम्हाल्नेछन् ।