संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी आउन लागेका हुन् । उनले यही कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर)सम्म नेपालको औपचारिक भ्रमण गर्नेछन् ।

जनवरी २०१७ मा उनले पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा महासचिव गुटेरेसले ३ अक्टोबर २०२३ मा सङ्घीय संसद्‌को संयुक्त अधिवेशनलाई सम्बोधन गर्नेछन् ।

उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग सङ्क्षिप्त कुराकानी गर्ने कार्यक्रम रहेको छ । उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण गर्नेछन् ।

महासचिवका साथमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयका अन्य अधिकारीहरू र नेपालस्थित राष्ट्रसङ्घको टोली पनि सहभागी हुनेछन् ।

भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाललगायतसँग भेटवार्ता गर्नेछन् । महासचिव गुटेरेस १ नोभेम्बरमा काठमाडौंबाट प्रस्थान गर्नेछन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्