एक महिनामै भारतले किन्यो ४ अर्बको विद्युत्, यो वर्ष १६ अर्बको बिक्री गर्ने प्राधिकरणको लक्ष्य

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले एक महिनामै ४ अर्बको विद्युत् भारतलाई बिक्री गरेको छ । प्राधिकरणले असोज महिनामा मात्रै ४ अर्ब २ करोड ३५ लाख रुपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात गरेको हो । जुन ६ महिना यताकै उच्च निर्यात हो । प्राधिकरणले गत जेठ २८ गतेदेखि भारतीय बजारमा विद्युत् बिक्री सुरु गरेको थियो ।

देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् गत जेठ मसान्तदेखि निर्यात सुरु गरेको हो । जेठमा प्राधिकरणले ४० करोड ५ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको हो । सो अवधिमा प्रति युनिट ८ रुपैयाँ ९३ पैसामा बिक्री गरिएको प्राधिकरणले जनाएको छ ।

गत असार महिनामा मात्रै प्राधिकरणले १ अर्ब ७५ करोड ७० लाख रुपैयाँ बराबरको विद्युत् भारतलाई बिक्री गरेको थियो । असारमा पनि औसत प्रति युनिट ७ रुपैयाँ ४२ पैसामा बिक्री गरेको हो ।

यस्तै, साउनमा २ अर्ब १४ करोड ३३ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख र असोजमा बढेर ४ अर्ब २ करोड ३५ लाख रुपैयाँ बराबरको बिजुली भारतीय बजारमा पुगेको थियो । यी महिनाहरूमा प्रति युनिट क्रमशः ८ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसाका दरले विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ ।

औसतमा मासिक १ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बराबरको विद्युत् भारतीय बजारमा पुगेको तथ्याङ्कले देखाउँछ । विद्युत् निर्यातबाट नेपाल र भारतबिचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको प्राधिकरणले जनाएको छ ।

यो वर्ष प्राधिकरणले १६ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात हुन सक्ने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने,– अहिलेको अवस्थालाई हेर्दा यो वर्ष हामीले १६ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात हुन सक्ने देखिएको छ । थप विद्यूत निर्यातका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसँग प्रस्ताव गरिएको छ ।

उनका अनुसार थप १०० मेगावाट विद्युत् निर्यात स्वीकृतिका लागि भारतसँग प्रस्ताव गरिएको थियो । तर, अहिलेसम्म स्वीकृति नभएकाले  पुनः पठाएका घिसिङले बताए ।  प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्