
प्रधानमन्त्रीलाई विश्वविद्यालयमा कुलपति बनाउनु हुन्नः उपकुलपति बास्कोटा
काठमाडौँ । त्रिभवुन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन नहुने बताएका छन्।
बुधबार आफ्नो ४ वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उनले विश्वविद्यालयका लागि समय दिन नसक्ने भएकाले प्रधानमन्त्रीलाई कुलपति बनाउने प्रावधान हटाउनुपर्ने बताएका हुन्। उनले शैक्षिक व्यक्तित्वलाई खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयको कुलपति नियुक्त गर्नुपर्ने प्रस्तावसमेत गरे।
उपकुलपति बास्कोटाले राजनीतिक पार्टीपिच्छे स्थापना भएको शिक्षक, कर्मचारीहरुको संघ, संगठनलाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्ने प्रथाको सदाका लागि अन्त्य गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘विश्वविद्यालयका लागि समय दिन नसक्ने भएकाले प्रधानमन्त्री नै कुलपति हुने व्यवस्था हटाई विश्वविद्यालयमा स्थापित भइसकेको ट्रष्टको प्रावधानको व्यवस्था गरी विशेषज्ञता हासिल गरिसकेको शैक्षिक व्यक्तित्वलाई खुल्ला प्रतिस्पर्धाबाट कुलपति नियुक्त गर्ने प्रावधानको विकास गरिनुपर्दछ।’
उपकुलपति बास्कोटाले उच्च शिक्षाका लागि बजेटमा उल्लेख्य वृद्धि गरी २० देखि २५ प्रतिशतसम्म पुर्याउनुपर्ने बताए। हाल उच्च शिक्षाका लागि सरकारले १० प्रतिशतको हाराहारीमा बजेट विनियोजन गरेको छ।