
अस्ट्रेलियाबाट पनि ‘हाम्रो पात्रो’ मार्फत रेमिटेन्स पठाउन सकिने
काठमाडौं । नेपालको लोकप्रिय एप ‘हाम्रो पात्रो’ले अस्ट्रेलियामा आफ्नो रेमिटेन्स सेवा सुरु गरेको छ । यसअघि अमेरिकामा मात्र सीमित रहेको कम्पनीको रेमिटेन्स सेवा सोमबारदेखि अस्ट्रेलियामा समेत सञ्चालनमा ल्याइएको हो ।
नेपाल रेमिटेन्स पठाउन सकिने यो सेवाको अमेरिकामा सफल सञ्चालनसँगै अस्ट्रेलियामा समेत सुरु गरिएको कम्पनीले जनाएको छ । ‘अस्ट्रेलियामा रहेका ग्राहकको स्वागतार्थ हाम्रो रेमिटेन्स सेवामा पहिलो तीन ओटा कारोबार निःशुल्क गरेका छौं,’ ‘हाम्रो पात्रो’ इंककी फिनटेक निर्देशक सुदीना गौतमले भनिन्, ‘यो अफर अन्तर्गत अस्ट्रेलियामा रहेका नेपालीहरूले ‘हाम्रो पात्रो’मार्फत तीन पटकसम्म रेमिटेन्स पठाउँदा कुनै शुल्क लाग्दैन ।’
यससँगै अस्ट्रेलियामा रहेका नेपालीहरूले झन्झटरहित रूपमा छिटो र छरितो ढङ्गले नेपालमा रेमिटेन्स पठाउन सक्ने भएका छन् । ‘हाम्रो पात्रो’ एपभित्रैबाट यो रेमिटेन्स सेवा प्रयोग गर्न सकिन्छ । कम्पनीले पूर्ण रूपमा डिजिटल तथा नगदरहित सेवाको रूपमा यो सेवा सुरु गरेको हो ।
‘हाम्रो ध्यान पारदर्शी र प्रयोगकर्तामैत्री डिजिटल कारोबारको सुविधा उपलब्ध गराउने तर्फ रहेको छ,’ गौतमले भनिन्, ‘यो सेवा अस्ट्रेलियामा विस्तार गर्न पाउँदा अत्यन्तै उत्साहित छौं ।’