
पुनः मञ्चन हुँदै नाटक ‘ब्युँझिएको सिरान’, कहाँ पाइन्छ हेर्न ?
बत्तिसपुतलीस्थित शिल्पी थियटरमा मंसिर १५ गतेबाट यो नाटक मञ्चन हुने भएको छ। वाइ स्ट्यान्ड डान्स स्कुलको प्रस्तुती र इलाम गुरुङ सोसाइटीको सह प्रस्तुतिमा तयार हुने यो नाटकलाई कलाकार तथा कोरियोग्राफर जेडीले पहिलोपटक निर्देशन गरेका हुन्। उनी एक दशकदेखी कोरियोग्राफी तथा अभिनयसंगै फोटोग्राफीमा सक्रिय छन्।
मानसिक स्वास्थ्यको विषयमाथि कथामा तयार पारिएको नाटकमा अभिनय र नृत्यको संयोजन छ। यो नाटक पहिलोपटक थापागाँउस्थित मण्डला थियटरमा मन्चन भएको थियो। तिहारअघि मात्र मञ्चनभएको यो नाटक चाडपर्वको कारण पन्ध्र दिन देखाइएको थियो। दर्शकको चाप बढेकोले पुनः नाटक मञ्चन गर्न लागेको निर्देशक जेडी बताउँछन्। साथै यो नाटक पहिलाभन्दा अझै नयाँ डिजाइनमा देखाइने जेडीले जानकारी दिए।
नाटकमा रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, रेनुका घर्ति मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र मनेरू, लगायत कलाकारको अभिनय रहनेछ। नाटकमा अनिल सुब्बाले कला निर्देशन गर्नेछन्। गायिका झुमा लिम्बुले संगीत संयोजन गर्ने छिन् भने नवीन बयल्कोटी र आयुषले नाटकमा संगीत भर्नेछन्।