टोकियो । जापानबाट अमेरिकातर्फ जाँदै गरेको जहाजका परिचारकलाई नशामा लठ्ठ परेका यात्रुले टोकेपछि टोकियो फर्काइएको छ । अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एअरवेज (एएनए) को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फर्काइएको जापानी वायुसेवा कम्पनीले बुधबार जनाएको छ ।
एएनएका प्रवक्ताले एएफपीलाई बताएअनुसार ५५ वर्षीय एक अमेरिकी नागरिकले मादक पदार्थ सेवन गरेर चालक दलका सदस्यको पाखुरामा टोकेका थिए ।
एएनएका अनुसार उक्त घटनाका कारण १५९ यात्रुसहित आकाशमा उडिरहेको विमानलाई चालकले हनेदा विमानस्थलमा फर्काएका थिए ।
जापानी प्रसारक टीबीएसबाट प्रशारित समाचारमा ती यात्रुले अनुसन्धानकर्तासँग आफ्नो व्यवहारबारे आफुलाई ‘पटक्कै केही याद नभएको’ बताइएको छ ।
यस घटनालाई ‘जोम्बी चलचित्रको सुरुवात’ सँग तुलना गर्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनाबारे पोष्टहरू सार्वजनिक गरेका छन् भने केहीले यस वर्ष अहिलेसम्म भएका जापानी हवाई घटनाको बारेमा दुःख व्यक्त गरेका छन् । जापानमा दुई हप्ताभन्दा कम समयमा चार अन्य घटनाहरू पत्रपत्रिकामा हेडलाइनमा बनेर आइसकेका छन् ।
गत जनवरी २ मा हानेदामा जापान एयरलाइन्सको विमान र सामुद्रिक सुरक्षार्थ खटिएको सुरक्षागार्डको सानो विमान ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा जेएएल एयरबसमा सवार सबै ३७९ जना विमानमा आगो लाग्नुअघि नै सकुशल झर्न सफल भएका थिए भने मध्य जापानमा गएको ठूलो भूकम्पपछि राहत कार्यमा सहयोग गरिरहेको सानो विमानमा सवार ६ जनामध्ये पाँच जनाको मृत्यु भएको थियो ।
मङ्गलबार कोरियन एयरको विमानको पखेटा उत्तरी टापु होक्काइदोको विमानस्थलमा गुडिरहेको समयमा क्याथे प्यासिफिकको पार्किङ गरिराखेको विमानसँग ठोक्किएको थियो । कोरियन एयरका अनुसार भारी हिमपातका कारण ‘थर्ड पार्टी ग्राउन्ड ह्यान्डलर’ चिप्लिएपछि विमान दुर्घटना भएको हो ।
गत आइतबार सिकागो विमानस्थलमा डेल्टा एयर लाइन्सको विमानसँग एएनएको विमान ‘ठक्कर खाँदा’ पनि यस्तै दुर्घटना भएको जापानी एयरलाइन्सले एएफपीलाई जानकारी दिएको छ ।
बोइङ ७३७–८०० विमानको ककपिटको झ्यालमा समस्या देखिएपछि एएनएको अर्को विमान शनिबार नै आकस्मिक अवतरण गर्नुपरेको थियो ।
सेन्ट्रल क्विन्सल्याण्ड युनिभर्सिटीका उड्डयन विज्ञ डग ड्रुरीले एएफपीसँग भने, “धेरै विमानस्थलहरूले निर्माण गरिएका भन्दा ठूला विमानहरू ह्यान्डल गरिरहेका छन् त्यसैले ‘विङ स्ट्राइक’ का घटनाहरू हुन्छन् ।”
प्रतिक्रिया