+
Search

ताजा अपडेट +

पपुलर +

घरजग्गामा होइन, जलविद्युत्‌मा लगानी गरौं : गणेश कार्की

सजिलोपाना संवाददाता
२०८० माघ ४, बिहीबार

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले विदेशमा रहेका नेपालीलाई घर जग्गाको सट्टा जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन्। अध्यक्ष कार्कीले विदेशबाट फर्किएपछि कमाएको धन घरजग्गामा लगानी गर्ने गरेको भन्दै त्यस्तो लगानी जलविद्युत आयोजनामा लगाउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका हुन्। । इप्पानको २४औं वार्षिकोत्सव उद्घाटन समारोहमा बोल्दै उनले १० हजार मेगावाट विद्युत उत्पादन गर्न ४६ खर्ब रुपैयाँ लगानी लाग्ने बताउँदै लगानी जुटाउन सरकार, नेपाल राष्ट्र ब्यांकले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

अध्यक्ष कार्कीले १० वर्षमा १० हजार मेगावाट विद्युत बेच्ने भारतसँगको सम्झौता निकै स्वागतयोग्य रहेको बताउँदै यो दशकलाई ऊर्जा दशकका रुपमा मनाउनुपर्ने बताए। “देश उर्जामय भएको छ। यो दशकलाई उर्जा दशकका रुपमा घोषणा गर्न सरकारसँग माग गर्छु,” उनले भने।

उनले मुलुकमा प्रसारण लाइनमा लगानी नपुगेको बताउँदै प्रसारण लाइन निर्माण नहुने हो भने विद्युत् खेर जाने क्रम बढ्ने र त्यो लगानीकर्ताका लागि भयावह हुने बताए। गत आर्थिक वर्षमा २००–३०० मेगावाट विद्युत् खेर गएको उल्लेख गर्दै विद्युत् खेर जाँदा उर्जा उद्यमी ब्यांक तथा वित्तीय संस्थाको कालो सूचीमा पर्ने जोखिम रहेको उनको भनाइ थियो।

कार्यक्रममा उर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतले अबका केही महीनामा विद्युत् प्रणालीमा करीब ५०० मेगावाटका आयोजना थपिन लागेको जानकारी दिए। उनले पछिल्लो दशकमा ८०० बाट दुई हजार ९०० मेगावाट विद्युत् उत्पादन क्षमता पुग्नुमा निजी क्षेत्रको सबैभन्दा ठूलो हात रहेको बताए।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उर्जाको आन्तरिक खपत बढाउन सरकारले नीति निर्माण लगायतका तहमा काम गरिरहेको बताए। उनले सरकारले आगामी वैशाखमा गर्न लागेको लगानी सम्मेलनमा उर्जा क्षेत्रमा लगानी जुटाउनुलाई प्राथमिकतामा राखेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता