विस्तारित समयमा विमानस्थल प्रयोग गरेवापत प्रति घण्टा ५० हजारका दरले शुल्क तिर्नुपर्ने

काठमाडौँ । अब एयरलाइन्सहरूले विस्तारित समयमा विमानस्थल प्रयोग गरेवापत प्रति घण्टा ५० हजारका दरले शुल्क तिर्नुपर्ने भएको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बिहीबार वायुसेवा कम्पनीहरूलाई पत्राचार गर्दै यस्तो शुल्कबारे जानकारी गराएको हो।

कार्यालयका अनुसार आन्तरिक उडानमा अब रातको १ बजेदेखि बिहान ६ बजेसम्मको समयलाई विस्तारित समय तोकिएको छ। त्यस्तै अन्तर्राष्ट्रिय उडानमा रातीको ३ बजेदेखि बिहान ६ बजेसम्मका लागि विस्तारित समय तोकिएको छ।

यो समयमा विमानस्थल प्रयोग गरेवापत सम्बन्धित एयरलाइन्सहरूले प्रतिघण्टा ५० हजारका दरमा शुल्क तिर्नुपर्ने छ।  गत पुष १० गतेदेखि यो व्यवस्था लागु भएको कार्यलयले बताएको छ। कार्यलयका अनुसार यदि विस्तारित समयको अन्तिम घण्टामा विमानस्थल प्रयोग गरिएमा पनि सुरूदेखिकै शुल्क लाग्नेछ।

त्यस्तै पहिलो एक घण्टा पुरै एक घण्टाको दरमा शुल्क लाग्नेछ भने त्यसपछि जति मिनेट भएपनि आधा घण्टाको हिसाबले शुल्क लाग्नेछ।  वायुसेवा कम्पनीहरूले भने विमानस्थल पूर्ण क्षमतामा नचलाएर शुल्क भार मात्र थुपारेको बताइरहेका छन्।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्