विज्ञान, प्रविधि र नवप्रवर्तनमा उच्च प्राथमिकता दिनुपर्छ: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान विश्वमा ‘गेम चेन्जर’का रूपमा देखा परेका विज्ञान, प्रविधि र नवप्रवर्तनमा असंलग्न आन्दोलन (नाम) ले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको नामको १९औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘विकासशील र अल्पविकसित देशहरूले सामना गरिरहेका संस्थागत र क्षमताका बाधाहरूलाई  सम्बोधन गर्न नामले विज्ञान, प्रविधि र नवप्रवर्तनमा उच्च प्राथमिकता दिनुपर्छ ।’

नामका धेरै सहयात्री देशहरूले सामाजिक–आर्थिक र प्राविधिक विकासमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उत्तर–दक्षिण र त्रिपक्षीय सहकार्यका साथै दिगो विकासका लागि साधन र स्रोतको कमी न्यूनीकरण गर्न दक्षिण–दक्षिण सहयोगलाई अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

विश्वव्यापीकरण विश्वास गरिएअनुरुप अगाडि नबढेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसले आयमा असमानता र थोरै मानिसहरू र थोरै देशरूको हातमा सम्पत्ति केन्द्रित गरेको उल्लेख गरे । विश्वव्यापीकरणबाट आधा मानवलाई समृद्धिको यात्राबाट बहिष्करणमा पारिएको उल्लेख गर्दै त्यसलाई विकसित विश्वले बुझ्नुपर्ने प्रचण्डको भनाइ थियो ।

नामले दिगो विकासका लागि सन् २०३० को मुद्दा र अन्य अन्तर्राष्ट्रिय रूपमा सहमत विकासका लक्ष्यहरूको समयमै उपलब्धिमार्फत दक्षिण विश्वको आर्थिक विकास र समृद्धिमा जोड दिनुपर्ने उनले बताए । नामले संयुक्त राष्ट्र सङ्घका साथै विश्वव्यापी वित्तीय संरचना र व्यापारिक व्यवस्थालाई विकासशील देशहरूको आवश्यकताप्रति उत्तरदायी बनाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्