काठमाडौं । थाइल्यान्डमा करिब एक करोड ५० लाख टन लिथियम भण्डार फेला परेको छ । आफ्नो मुलुकमा लिथियमको भण्डार पत्ता लगाएको एक जना सरकारी प्रवक्ताले शुक्रबार बताएका छन् । उक्त खोजले विद्युतीय सवारी उत्पादनका लागि क्षेत्रीय ‘हब’ बन्ने मुलुकको लक्ष्यलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । यस खोजले बोलिभिया र अर्जेन्टिनापछि थाइल्यान्डसँग तेस्रो सबैभन्दा ठूलो लिथियम स्रोत रहेको देखाएको छ तर यसलाई व्यावसायिक रूपमा कति दोहन गर्न सकिन्छ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।
सरकारका उपप्रवक्ता रुडक्लाओ इन्टावोङ सुवानकिरीले दि नेसन टेलिभिजनलाई एक करोड ४८ लाख टन लिथियमको भण्डार दक्षिणी प्रान्त फाङ नगामा दुई अलग अलग साइटको बीचमा फैलिएको जानकारी दिए । “हामीले फेला पारेका स्रोतहरूबाट कति प्रयोग गर्न सक्छौँ भनेर पत्ता लगाउन प्रयास गरिरहेका छौँ, यसमा समय लाग्छ”, उनले भने ।
लिथियम विद्युतीय कारका साथै स्मार्टफोन र अन्य विद्युतीय सामग्रीमा प्रयोग गरिने बेट्रीहरूको निर्माणमा प्रमुख घटक हो । अगस्टमा सत्ता सम्हालेपछि प्रधानमन्त्री श्रेथा थाभिसिनको सरकारले मुलुकको परम्परागत कारहरू एसेम्बल गर्ने इतिहासलाई अगाडि बढाउँदै थाइल्यान्डलाई विद्युतीय सवारीका लागि क्षेत्रीय उत्पादन केन्द्रका रूपमा बढाउने प्रयासलाई प्राथमिकता दिएको छ ।
डाभोसमा विश्व आर्थिक मञ्चको बैठकका क्रममा श्रेथाले उद्योग जगतका नेताहरूसँग भेट गरेका थिए र थाइल्यान्डमा विद्युतीय सवारी उत्पादनमा लगानी गर्न आग्रह गरे । रुडक्लाओले लिथियम खोजका बारेमा भने, “यो राम्रो समाचार हो, यो थाइल्यान्डका लागि विद्युतीय सवारी बेट्रीको उत्पादनमा आत्मनिर्भर बन्ने एउटा अवसर हो ।”
प्रतिक्रिया