काठमाडौं । एनआईसी एशिया बैंकको सूचांकहरुलाई विश्लेषण गर्दा मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायतका सूचकहरु वाणिज्य बैंकहरूमध्ये उत्कृष्ट रहेको छ । एनआईसी एशिया बैंक बाणिज्य बैंकहरूमध्ये उत्कृष्टमा पर्दै आएको बैंक हो । कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा यस बैंकको अवस्था अत्यन्त उत्कृष्ट रहेको छ ।
एआईसी एशियाले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ९० करोड ३८ लाख रूपैयाँ खुद नाफा कमाएको छ । एनआईसीको खराब कर्जा दर १.१९ प्रतिशत छ । ५ प्रतिशतभन्दा कम खराब कर्जा हुनु स्वभाविक मानिन्छ ।
त्यस्तै नेपाल राष्ट्र बैंकको नीतिअनुसार बाणिज्य बैंकको न्यूनतम् चुक्ता पुँजी ८ अर्ब हो । हाल एनआईसी एशियाको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रूपैयाँ छ ।
एनआईसी एशियाले संस्थागत सुशासन, नियमनकारी व्यवस्थाहरूको परिपालना र सबै वित्तीय सूचकहरुमा बैंकको अवस्था, कर्जाको गुणस्तर तथा कर्जा असुलीको अवस्था, सञ्चालक समिति तथा बैंक व्यवस्थापनको कार्यकुशलता लगायत हरेक पक्षबाट आफूहरु पहिलो रोजाईको बैंक भएको बताउँदै आएको छ ।
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले ‘एनआईसी एसिया बैंक डुब्दै छ, बचतकर्ताले आफ्नो रकम तुरुन्त निकाल्नु होला’ भनेर सामाजिक सञ्जालमा लेखे । प्रसाईँले सामाजिक सञ्जालमा लेखेपछि ‘एनआईसी एसिया बैंक डुब्दै छ’ भन्ने भ्रम सबैतिर फैलियो । प्रसाईँले सामाजिक सञ्जालमा लेखेकै भरमा उक्त बैंकका बारेमा दैनिक नकारात्मक समाचारहरु आउन थालेका थिए ।
बैंकको वित्तीय अवस्थाबारे थोरै पनि ज्ञान नभएका प्रसाईँले सामाजिक सञ्जालमा लेखेकै भरमा बैंकले भने आफ्नो व्यवसायिक क्षति व्यहोर्नु पर्यो । एनआईसी एशिया बैंक डुब्दैछ भन्ने हल्ला व्यापक रुपमा आउन थालेपछि नेपाल राष्ट्र बैंक पनि बोलेको छ । नेपाल राष्ट्र बैंकले एनआइसी एशिया बैंकको वित्तीय सूचक हालसम्म राम्रो रहेको बताएको छ । साथै हल्लाको पछि नलाग्न पनि नेपाल राष्ट्र बैंकले सबैलाई अपील गरेको छ ।
साथै, बैंकभित्र सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत कुनै पनि तहमा कुनै पनि किसिमको असमझदारीको झिल्कोसमेत नरहेको र बैंकको सम्पूर्ण संरचना सदाझैं एकतावद्ध, दृढ, एवम् रुपान्तरणकारी हिसाबले सबै सरोकारवालाहरूको हित संरक्षण र संवद्र्धन गर्न मन, वचन र कर्मले अहोरात्र खटिरहेको छ ।
एनआईसी एशियाले हाल देशभर ३ सय ६० शाखा कार्यालय, ६ सय ७० एटिएम, १ सय १५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित बैंकिङ सञ्जालद्वारा ४१ लाख भन्दा बढी ग्राहकमा बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया