+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीसँग हिसाबकिताब त लिइन्छ, यही सदनमा लिइन्छ, सभामुखको अगाडि नै लिइन्छ : गगन थापा

रवि लामिछानेले दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग हिसाबकिताब खोज्ने चेतावनी दिएको छ ।

सजिलोपाना संवाददाता
२०८१ जेष्ठ २०, आईतवार

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग हिसाबकिताब खोज्ने चेतावनी दिएको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभामुखकै अगाडि हिसाबकिताब लिने बताए । उनले कस्तो खालको हिसाबकिताब लिने भन्नेचाहिँ प्रष्ट पारेनन् ।

‘सम्माननीय प्रधानमन्त्रीलाई, आज सदन लामो समयपछि चल्यो, हामी विनित भएर भन्दैछौँ कि हामीलाई सुन्नुहुन्छ भनेर । जुन कुरा यहाँ भनियो, जुन कुरा यहाँ सुनियो । कि प्रधानमन्त्रीले अपनत्व लिनुस् ।

तपाईंसँगै हिसाबकिताब गरौँला । कि होइन भने प्रधानमन्त्री आउनुस् र भन्नुस्, म यसलाई रेकर्डबाट हटाउँछु भनेर । होइन भने, प्रधानमन्त्रीसँग हिसाबकिताब त लिइन्छ। यही सदनमा लिइन्छ । सभामुखको अगाडि नै लिइन्छ’, थापाले भने ।

जेठ ६ गते प्रतिनिधि सभामा सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले सदनमा देशको सूचना विदेशीलाई बेच्ने मान्छे रहेको बताएका थिए ।

थापाले लामिछानेको त्यही प्रसंग जोड्दै भने, ‘गृहमन्त्री, जसले जिम्मा पाएको छ, उसले त सदनमा सूचना बेच्ने मान्छे छ भने त, ऊ त देशद्रोही हो ।

त्यसलाई सदनबाट निकाल्ने मात्रै होइन, त्यसलाई त गिरफ्तार गर्नुपर्छ । देशद्रोहको मुद्दा लगाउनुपर्छ । थुन्नुपर्छ । गृहमन्त्रीको टिममा त्यति सिकाउने मान्छे पनि रहेनछन् ।’

थापाले गृहमन्त्री बरालिए भन्दैमा आफूहरू बरालिन नमिल्ने बताए । ‘हामीले त हिसाबकिताब लिनैपर्छ । यो हिसाबकिताब गृहमन्त्रीसँग लिएर पनि धेरै ठूलो अर्थ पनि भएन । हिसाबकिताब त अब प्रधानमन्त्रीसँग लिनुपर्छ’, उनले भने ।

उनले व्यक्तिगत रुपमा चिन्ता नभएको बताए । आफूलाई सत्तासँग लड्दालड्दा घाउ कसरी लाग्छ भन्ने कुराको राम्रो अनुभव बताए । भने, ‘अख्तियारका शक्तिशाली प्रमुखदेखि प्रधानन्यायाधीशसम्म लडेर आएको हुँ । शक्तिशाली कम्युनिस्ट पार्टीको सरकारसँग लडेर आएको हुँ ।

त्यो बेला एक्लै घाउ पनि खाएर आएको हुँ । त्यसैले व्यक्तिगत कुरा केही पनि छैन । यस्तो कति लडियो, ‘हाच्छिऊँ खायो, बाच्छिऊँ खायो, झुसे बारुलो’ भन्ने उखानभन्दा बढी सुहाउँदिलो अरु नहोला ।’

थापाले ‘पोस्ट ट्रुथ’को ‘क्यारेक्टर’ यसअघि सदनमा नआएको तर यसपटक छिराउने कोसिस भएको बताए । ‘विषयवस्तुलाई बरालेर अन्ततिर लैजानका लागि विषयलाई अन्ततिर लैजाने । यो डरलाग्दो छ । यो पछि पनि हुनसक्छ’, उनले भने, ‘सरकारमाथि प्रश्न आउँदा सरकारमा मन्त्री र प्रधानमन्त्रीले यस्तै गर्न थाले भने सदन कहाँ पुग्छ?’

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता