काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले बजेटमा केही अन्तरविरोधहरू रहेको र यथार्थलाई समेट्न नसकेको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै कार्यान्वयनमा जाँदा निर्दिष्ट लक्ष्य पूरा गर्न सक्षम हुन्छ त भन्ने संशय रहेको बताएका हुन्।
अहिले एउटा चर्चित गीत छ, फूल फुल्न त फुलेको छ भीरै भीरमा छ; जिन्दगी चल्न त चल्या छ पीरै पीरमा छ। यस गीतले देशको यथार्थलाई भन्छ,’ उनले भने, ‘बजेट हामीले ल्याएका छौं। भोलि कार्यान्वयनमा जाँदा निर्दिष्ट लक्ष्य पूरा गर्न बजेट सक्षम हुन्छ त? त्यहाँबाट हामीले बजेटको मूल्यांकन गर्नुपर्छ।’
अर्थमन्त्रीहरू अलि निर्मम हुने सन्दर्भ पनि उल्लेख गरे। ‘अर्थमन्त्री यथार्थवादी हुन्छन्। उनीहरूले दिएको तथ्यांकमा देश विश्वास गर्न सक्नुपर्छ।
केही वर्षयता हाम्रो बजेट विश्वासयोग्य भएनन्। गत वर्षको पनि विश्वासयोग्य भएन। किनभने बजेटमा भनिएका कयौं योजना फिल्डमा जाँदै गएनन्। यो बजेटबाट हामीले मेरो पार्टीले समर्थन गरेको सरकार हो। हामी यो बजेटलाई भोट हाल्छौं। कार्यान्वयन होस्, लक्ष्य पूरा होस्। बजेटका प्रतिबद्धता पूरा होऊन्,’ उनले भने।
अर्थमन्त्री वर्षमान पुनले राम्रा कुरा राखेको तर अन्तरविरोध रहेको पनि बताए। बजेटमा कतिपय ठाउँमा अंक छन्। कतिपयको अंक नै छैनन्, कार्यान्वयनमा कसरी जान्छ?
मन्त्री यथार्थवादी बन्न त खोज्नुभएको छ जति हुनुपर्ने हो त्यतिचाहिँ हुन सक्नुभएको छैन। यो वर्षको तोकिएको राजस्व उठ्ने स्थिति छैन। अर्को वर्ष पनि नउठ्ने स्थिति भएकाले केमा कटौती हुन्छ? तलब, भत्ता काट्न सक्नुहुन्न,’ उनले भने।
सांसद पन्तले अर्थमन्त्री पुनले करिब ६ खर्बको स्रोत सुनिश्चितता दिइसकेको बताए। उनले यो सबै अहिलेको अर्थमन्त्रीले नगरेको बताए।
‘एउटा विश्वसनीय स्रोतले नै मलाई भनेको के छ भने यो त सबै अहिलेको अर्थमन्त्रीले गर्नु भएको होइन होला। ५ खर्ब ८५ अर्ब अर्थात छ खर्व रुपैयाँ भन्दा बढी रकमको बजेट सुनिश्चितताको पत्र अर्थ मन्त्रालयले दिइसकेको छ। अब त्यो ५ खर्बको स्रोत सुनिश्चितता कसरी गर्ने? अनि यो पालि बजेटमा छुट्टयाइएको विकास योजनाहरुलाई बजेट कहाँबाट जुटाउने? यो त उहाँको मात्र होइन, ५/५ खर्बको स्रोत सुनिश्चितता त्यतिकै दिएको होइन होला। खोज्नु परेन। यसले हाम्रो अर्थ मन्त्रालयमा देखिएको आर्थिक अराजकता र अनुशासनहीनतालाई देखाउँछ। कुन-कुन अर्थमन्त्रीको पालामा गयो त्यसरी?,’ उनले भने।
प्रतिक्रिया