काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको छ।
छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको अटोमोवाइल क्षेत्रलाई माथि आउन आवश्यक रहेका नीतिमा सुधार ल्याउन आग्रह गर्दै विशेषगरी ‘लोन टू भ्यालु रेसियो’ मा हाल ५० प्रतिशतको सिमालाई बढाएर ७५५ पुर्याउन आग्रह गर्दै यस्तो व्यवस्था भएमा मात्र अटोमोवाइल व्यवसाय गतिशील हुने भएकोले यसलाई आउदो मोद्रीक नीतिबाटै सम्बोधन गर्न आग्रह गरेका थिए।
त्यस्तै, उनले घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने बताए।
अध्यक्ष चौधरीले पेट्रोल र डिजेलबाट चल्ने नीजि र व्यावसायिक महत्वका सवारी साधनलाई छट्याउनुपर्ने भन्दै कालो सूचिमा परेका व्यक्ती वा कम्पनीमाथिको कारबाही ज्यादै फितलो भईरहेकाले यस सम्बन्धी नियमहरुलाई थप कडा र प्रभावकारी बनाउन आग्रह समेत गरे।
छलफलको क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले भारतीय मालवाहक ट्रक नेपालबाट फर्किदा नेपालबाट सामानसमेत लैजाने गर्दा नेपालको ढुवानी व्यवसाय र ढुवानीका साधनहरूको विक्रीमा ठूलो असर परिरहेको बताउँदै नेपालमा अटोमोवाइल कम्पोनेण्ट उद्योगको प्रशस्त सम्भावना भएकोले यस्तो उद्योग खोल्न सरकारले प्रोत्साहित गर्नू पर्ने धारणा राखेका थिए।
छलफलकै क्रममा महासचिव उप्रेतीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सम्बन्धमा नाडाकोतर्फबाट निम्नानुसारको ६ बुँदे लिखित सुझावसमेत प्रस्तुत गरेका थिए।
नाडाबाट प्रस्तुत सुझावहरूका विषयमा प्रतिक्रिया दिँदै गर्भनर अधिकारीले अटोमोवाइल व्यवसायबाट राष्ट्रलाई ठूलो राजश्व आउने गरेको भन्दै अटोमोवाइल व्यवसायलाई दिगो बनाउन, फाइनानसियल र इकोसिष्टम सिष्टम, डेभलप गर्न र आर्थिक गतिविधि बढाउन नेपाल राष्ट्र बैंक लागि रहेको बताए। यसैक्रममा अधिकारीले अटोमोवाइल मार्केट कसरी चलिरहेको छ त्यसतर्फ विचार गर्नुपर्ने भन्दै व्यवसायलाई ठाउँमा ल्याउन नेपाल राष्ट्र बैंकले प्रयास गरिरहेको बताए।
छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले भन्सारसंग सम्बन्धित ७ बुँदे लिखित सुझाव प्रस्तुत गर्दै टायर लुव्रिकेण्टस जस्ता अटोमोवाइल बस्तुहरूको गुणस्तर मापन गर्ने व्यवस्था गर्न र देशमा गुणस्तर युक्त सामानहरू आयात गर्न सरकारले प्राथमिकता दिनु पर्नु माँग राख्दै यसबाट देशमा रोजगारी सिर्जना हुने र देश आत्मनिर्भरतर्फ अग्रसर हुने बताए।
सोही छलफलमा महासचिव उप्रेतीले नेपालमै सिकेडी मोडेलमा अटोमोवाइल वस्तुहरु पनि उत्पादन गर्न सकिने बताउँदै भारतबाट अटोमोवाइल कवाडी सामानहरु समेत आयात हुँदा व्यवसायमा असर परिरहेको बताएका थिए। सोही क्रममा महासचिव उप्रेतीले एक्जीम कोडको नविकरण अवधि १ वर्षबाट ५ वर्ष पुर्याउने व्यवस्थाका लागि समेत आग्रह गरे।
सो छलफलमा नाडाका सचिव विक्रम सिंहानियाले दिल्ली नेपाल चल्ने बस सेवाबाट अटोमोवाइल वस्तुहरुको अनधिकृत आयात हुने गरेको बताउँदै एअरपोर्ट कुरियरमार्फतपनि नेपालमा अटोमोवाइल कम्पोनेण्टहरु आउने गरेकोले सरकारले सीमामा कडाई गर्नुपर्ने धारणा राखे।
नाडाका हेलमेट समितिका उपसभापति नारायणप्रसाद पौडेलले हेलमेट जस्तो बस्तु जनताको जीवन सुरक्षासँग सम्बन्धित भएकोले नेपालमा गुणस्तरीय हेलमेटमात्र आयात गर्न सकिने व्यवस्था हुनुपर्ने र त्यसका लागि विभागले त्यसको गुणस्तर मापन गर्ने यन्त्रसमेत राख्नु पर्ने धारणा राखे।
उक्त छलफलमा नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्य नवराज भुषाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया