काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले यूनाइटेड टेलिकम लिमिटेड (यूटीएल) लाई झन्डै साढे ७ अर्बको बक्यौता भुक्तानी गर्न १५ दिनको समय दिएको छ ।
प्राधिकरणले एक पत्र लेख्दै यूटीएललाई तुरुन्तै तिर्न बाँकी दायित्व फरफारक गर्न निर्देशन दिएको हो । कम्पनीलाई विसं २०७३ भदौ २० मा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्रदान गरिएको थियो।
त्यसपछि प्राधिकरणलाई तिर्नुपर्ने अनुमतिपत्र नवीकरण दस्तुरवापतको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायत दस्तुर रकम भुक्तानी गरेको छैन ।
यूटीएलले हालसम्म ७ अर्ब ४२ करोड ९३ लाख ९१ हजार रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार अनुमतित्रको सर्तबमोजिम नवीकरण दस्तुरको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायत दस्तुर बक्यौता रहेको हो ।
उल्लिखित रकम १५ दिनभित्र नबुझाए खारेजीको प्रक्रियामा अगाडि बढ्ने चेतावनी पनि प्राधिकरणले दिएको छ। लामो समयसम्म तोकिएको रकम भुक्तानी नगरेपछि प्राधिकरणले जेठमसान्तसम्मको समय तोकेर भुक्तानी गर्न निर्देशन गरेको हो ।
प्रतिक्रिया