+
Search

ताजा अपडेट +

पपुलर +

मुकुलको रास्वपामाथि आरोप : बन्द कोठामा बालापनको आरोप लगाएर मेरो सार्वजनिक छविमाथि प्रहार भयो

सजिलोपाना संवाददाता
२०८१ असार २६, बुधबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पदीय जिम्मेवारीबाट मुक्त भएका पूर्वमहामन्त्री डा. मुकुल ढकालले माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको शैली मनपर्ने रवि लामिछानेहरूलाई आफ्नो शैली बालापन लाग्नु स्वाभाविक भएको बताएका छन् ।

रास्वपाले पदीय जिम्मेवारीबाट मुक्त गरेपछि बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले आफूमाथि बन्द कोठामा बालापनको आरोप लगाएर सार्वजनिक छविमाथि प्रहार गरेको पनि बताए ।

‘प्रचण्ड, ओली र देउवाको शैली मनपर्ने मान्छेलाई मुकुल ढकालको शैली बालापन लाग्न सक्छ । लागोस् मलाई मतलब छैन’, ढकालले भने, ‘मेरो शैलीको बारेमा धेरै प्रश्नहरू उठ्यो । बच्चै छ, बालापन भयो । कार्यशैली मिलेन यावत कुराहरू उठे ।’ उनले यस्तो कुरा उठेपछि आफूले लाइभ गरौँ भनेको सुनाए । ‘मैले त भनिरहेको छु लाइभ गरौँ । कसको शैली कस्तो छ थाहा भइहाल्छ । बन्द कोठामा मुकुल बच्चा देखियो भन्ने आरोप किन लगाउनुपर्‍यो ? लाइभ गरेपछि को कति पानीमा छ देखिन्छ भनेपछि उहाँहरूले मेरो सार्वजनिक छविमाथि प्रहार हुने प्रकारले आरोप लगाउनुभयो’, ढकालको गुनासो छ ।

उनले पार्टी संगठनभित्र कसैको शैलीको आरोप भए त्यो दीपक बोहोराको शैलीमाथिमात्र आरोप लागेको बताए । साथै उनले पार्टी जोगाउन आफूलाई अधिकांश सदस्यहरूले जे हो सत्य बोल्न आग्रह गर्ने गरेको र आफू सोही अनुसार अघि बढेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता