+
Search

ताजा अपडेट +

पपुलर +

भदौ ११ गतेदेखि नाडा अटो शो हुँदै, ९५ प्रदर्शकहरू सहभागी हुने

सजिलोपाना संवाददाता
२०८१ श्रावण ३०, बुधबार

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको प्रमुख अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ आयोजना गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अगस्ट २७ देखि सेप्टेम्बर १ सम्म अर्थात् भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा अटो शोको आयोजना हुने जानकारी गराइएको हो ।

यस वर्ष नाडा अटो शोमा टाटा.ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह–प्रायोजकको रूपमा छन् । यो कार्यक्रमले अटोमोबाइल क्षेत्रको नवीनतम प्रवृत्ति र प्रविधिहरूको व्यापक प्रदर्शन गर्ने र अर्थतन्त्रलाई महत्त्वपूर्ण रूपमा वृद्धि गर्न मञ्च तयार पार्ने आयोजकले जनाएको छ ।

नाडा अटो शोले नेपालका अटोमोबाइल क्षेत्रका महत्त्वपूर्ण खेलाडीहरू र हजारौँ आगन्तुकहरूलाई प्रत्येक वर्ष आकर्षित गर्दै आएको छ । यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ दुई पाङ्गे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन् ।

३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् । ७ वित्तीय संस्थाहरू विशेष रूपले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् । कुल मिलाएर, शोमा ९५ प्रदर्शकहरू सहभागी हुनेछन् । जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन् ।

नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित गरेको हालको आर्थिक मन्दीको प्रकाशमा, नाडा अटो शो २०२४ले उद्योगलाई पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने अटोमोबाइल व्यवसाय समुदायको मनोबललाई पनि उचाल्ने विश्वास गरेका छन् ।

प्रदर्शनीलाई चार–पाङ्गे, दुई–पाने, हल्का व्यावसायिक सवारी साधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको छ । यसले सबै आगन्तुकहरूका लागि एक सुविधाजनक र प्रभावकारी अनुभव सुनिश्चित गर्दछ । आगन्तुकहरूको सुविधाका लागि, टिकटहरू अब खल्ती एपमार्फत अग्रिम रूपमा खरिद गर्न सकिन्छ ।

अग्रिम टिकट खरिदकर्ताहरूले अगस्ट २६ सम्मको टिकट खरिदमा २० प्रतिशत क्यासब्याक लाभ उठाउन सक्नेछन् । शोमा करिब ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता