धर्मको नाममा हामी माथी नै व्यापार भइरहेको कुरा हामीले थाहा नै पाइरहेका हुँदैनौं। कहिले तालि पड्काउन लगाएर त कहिले कोटिहोम चलाएर, त्यस्तै पशुपतिमा ‘कोटिहोम’ भन्दै गरिएको कार्यक्रममा भक्तजनले दिएको दानदक्षिणा कुम्लाएर ‘फरार’ रहेका विजय भण्डारी फेरि गण्डकी क्षेत्रका बासिन्दालाई ठग्न पोखरा पुगेका छन् गण्डकीका बासिन्दाहरु सचेत रहनुहोला,।
मानव सेवा फाउण्डेशनका संस्थापक अध्यक्ष हुन्– विजय भण्डारी । विजय नामले भन्दा ‘महाराज’ नामले चिनिन रुचाउने भण्डारी यसअघि आफूलाई ‘विष्णु प्रपन्नाचार्य’ र ‘बाल योगेश्वर महाराज’ भनेर चिनाउँथे । तर, अहिले उनी ती नामहरू पनि छाडेर ‘बालयोगेश्वर विजय कृष्णमूर्ती जी महाराज’ का नामले आफूलाई चिनाउन चाहन्छन् ।
उनको यति धेरै नाम किन छ ? उनी पटक–पटक आफ्नो परिचय किन बदल्छन् ? र, त्यसको पछाडिको उनको राजनीति के हो भन्ने विषयमा अलिक पछि कुरा गरौँला । आउनुस्, त्यो भन्दा पहिले कोटिहोम महायज्ञ र अहिले हुन गइरहेको ४५ दिनको ठगको बारेमा बुझौँ ।
धार्मिक आवरणमा ठगी धन्दा गर्दै आएका विजय भण्डारीले अमेरिकामा समेत कोटिहोम लगाउने भन्दै ठगी गरिरहेको र पशुपति कोटिहोमबाट उठेको दानको पैसासमेत दुरुपयोग गरिरहेको खुलेको छ ।
डेढ दशक अघिदेखि धार्मिक आवरणमा ठगी धन्दा चलाउँदै आएका भण्डारीले ४५ दिने महायज्ञ लगाउने भन्दै पोखरामा कमाउने योजना बनाइरहेका छन् ।
पोखरामा पनि माघ ११ गतेदेखि ४५ दिनसम्म महायज्ञ लगाउने उनको तयारी छ । मङ्गलबार मन्दिर व्यवस्थापकसँग छलफल गर्ने तयारी गरेका उनले महायज्ञको लागि भन्दै चन्दा उठाउन सुरु गर्ने योजना बनाएका छन् ।
पशुपतिमा ‘कोटिहोम’ भन्दै धार्मिक विधिशास्त्रविपरीत गरेको कार्यक्रममा उठेको करोडौं रुपैयाँको हिसाबकिताब नदेखाइ हिँडेका उनी अझै ठूलो महायज्ञको तयारीमा जुटेका हुन् ,
गण्डकी प्रदेशका जनता सचेत भएर बस्नुहोला सधैँ झैं यो चोटी पनि छाँट–छाँटका, काँट–काँटका ढोंगी ‘बाबा’ हरूले महायज्ञका नाममा धन उठाइरहँदा नठगिनुहोला,
पशुपतिमा महिनादिनसम्म महायज्ञ लगाउँदा दैनिक एक करोड रुपैयाँसम्म चन्दा उठेको थियो । त्यहाँबाट उत्साहित भएका भण्डारी अझ लामो समयको महायज्ञ लगाउन कस्सिएका हुन् ।
मानव तस्करी र ठगी मुद्दामा जेल सजाय भोगिसकेका भण्डारीविरुद्ध सरकारी कागज किर्ते, ज्यान मार्ने उद्योग तथा लुटपाट, प्राचीन स्मारक संरक्षण ऐन २०१३ विरुद्धको कसुरलगायतका जाहेरी प्रहरीमा परेका छन् ।
उनीसहितको टोलीले प्रहरी तथा पत्रकारलाई समेत कुटेको विषयमा काठमाडौंका सहायक सीडीओको नेतृत्वमा बनेको छानबिन समितिले काम गरिरहेको छ ।
प्रहरीको ‘हिटलिस्ट्’मा परेका उनी पक्राउबाट बच्न धार्मिक कार्यक्रमको खोल ओढ्न लागिरहेका छन् । पशुपति कोटिहोमको अन्तिम दिन सरकारी कागज किर्तेलगायतका विभिन्न मुद्दामा पक्राउ गर्न प्रहरी गएको थियो ।
त्यो बेला उनले आफूले हिन्दूराष्ट्र माग गर्दै अभियान चलाएको र त्यसबापत् सरकारले पक्राउ गर्न प्रहरी पठाएको भन्दै प्रतिकार गर्न केही मान्छे बोलाएका थिए ।
त्यो बेलामा आफ्नो अपराधलाई धार्मिक आवरणले छोपेका भण्डारी अहिले पक्राउ पर्ने डरले भागिरहेका छन् । लुकेर हिँडिरहेका भण्डारीले आफ्नो पक्षमा भीड जम्मा गर्न ४५ दिने महायज्ञ लगाउने भन्दै प्रस्ताव लिएर विभिन्न मन्दिर तथा धर्मशाला धाइरहेका छन् । पोखराका अधिकांस ठाउँहरुमा प्रस्ताव लैजाँदा उनी ‘ठग’ भनेर पनि लखेटिएका छन् ।
दानका नाममा पैसा दिँदैमा अनाथालयमा आश्रय लिइरहेका बालबालिकाको अभिभावक बन्न जो कोही कसरी मिल्छ ? अनाथालयमा रहेका बालबालिकाको इच्छा विपरीत जो कोही, जो कसैको अभिभावक कसरी बन्न पाउँछ ? र, त्यहाँका बालबालिकामाथि भविष्यमा शोषण हुँदैन भन्ने आधार के हो ? यस्तो गम्भीर विषयमा प्रश्न गर्ने आँट कसैले किन गरेको छैन ?
धर्मका नाममा गरिने यस्ता नक्कली अनुष्ठानका माध्यमबाट ठग बाबाहरूले कहिलेसम्म श्रद्धालुको श्रद्धा, बालआश्रमका बालबालिकोको जीवनसँग खेल्ने हुन् ? यसमा नेपाल प्रहरी र सिङ्गो राज्यको ध्यान कहिले जाने हो ? यो भने हालसम्म अनुत्तरित नै छ ।
प्रतिक्रिया