काठमाडौं । हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले आफ्नो दोस्रो वार्षिकोत्सव भव्यताको साथ् सम्पन्न गरेको छ । चित्लाङ रिजोर्टमा शुक्रबार बेलुकादेखि सुरु भएको यस १ रात २ दिने “सेल्स रिट्रीट कार्यक्रम”ले दोस्रो वार्षिकोत्सवका साथसाथै एसोसिएसनको पाँचौँ कार्यक्रम विशेष उत्साहका साथ् सफलतापूर्वक समापन गरेको हो।
देशभरका होटेल उद्योगका सेल्स एण्ड मार्केटिङ विभागका ६० जना भन्दा बढी प्रमुख प्रतिनिधिहरूको सहभागिता रहेको यस कार्यक्रममा, काठमाडौं, पोखरा, चितवन, र भैरहवाका प्रमुख होटल तथा रिसोर्टका प्रतिनिधिहरूको व्यापक उपस्थिति रहेको थियो।
आतिथ्य उद्योग (हस्पिट्यालिटी विजनेश) को विकास र सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा प्याराडाइज इन, होटल याक एन्ड यति, दि एभरेस्ट होटल, होलिडे इन एक्सप्रेस, टाइगर टप्स, होटल नमस्कार, बेस्ट वेस्टर्न प्लस, र केजिएच ग्रुपका सेल्स एण्ड मार्केटिङ विभागका प्रतिनिधिहरू उपस्थित थिए।
यसैगरी, पोखराबाट होटल माउन्ट कैलाश, मजेरी रिसोर्ट एन्ड स्पा, होटल सरोवर, मुनलाइट होटल, कुटी रिसोर्ट, र होटल निर्वाण भैरहवाका प्रतिनिधिहरू उपस्थित थिए। कार्यक्रममा नेपाली घर थमेल, होटल ट्राभल इन, होटल हिमालयन भिल्ला नागारकोट, होटल राईन, एपेक्स बिजनेस होटल, र होटल गोल्डेन टेम्पल इन लगायतका प्रतिष्ठित होटलका प्रतिनिधिहरूले समेत भाग लिएका थिए।
कार्यक्रमले प्रभावकारी मार्केटिङ, जनसम्पर्क, र सञ्चार रणनीतिहरूको विकास र कार्यान्वयनमा सहकार्यमा विशेष ध्यान दिएको छ। कार्यक्रममा नयाँ र पुराना सदस्यहरूको भेटघाट, अनुभव आदानप्रदान, र भविष्यमा सहकार्यका अवसरहरूबारे गहन छलफल भएको थियो।
यस अवसरमा नयाँ र पुराना सदस्यहरूको भेटघाट र सहयोगका अवसरहरूबारे छलफल गरिएको थियो। साथै, नयाँ सदस्यहरूलाई सेल्स एण्ड मार्केटिङको महत्त्व बुझाउँदै थप जनशक्ति आकर्षित गर्ने प्रयास पनि गरिएको थियो।
नेपालभरका फाइव स्टारदेखि नन-स्टार होटेलहरूका सेल्स एण्ड मार्केटिङ विभागका सदस्यहरूको छाता संगठनको रूपमा स्थापित यस एसोसियनका सहभागीहरूले शनिबार बिहान ऐतिहासिक सातधारा क्षेत्रको अवलोकन, पुरातात्त्विक अशोक चैत्यको अवलोकन तथा पर्यटकीय केन्द्र मार्खु इन्द्रसरोवर तालको अवलोकन समेत गरेका थिए।
नेपालको होटेल उद्योग र पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका निभाइरहेको एसोसियनले कार्यक्रमको दौरान होटेलमा कार्यरत सेल्स एण्ड मार्केटिङ विभागका प्रतिनिधिहरूबीच सशक्त सम्बन्ध स्थापना, स्फूर्तिदायी वातावरण सिर्जना एवं गुणस्तरीय समय बिताएको थियो।
कार्यक्रम व्यवस्थापनमा एसोसियनका संयोजक तथा प्याराडाइज इनका दीपक पोख्रेल. होटेल येलो प्यागोडाका प्रदीप पौडेल, केजीएच ग्रुपका सन्जीव तुलाधर, ल्याण्डमार्क काठमाडौंका रमेश पाठक, होटेल याक एण्ड यतीका रवीन्सन महर्जन, टाइगर टप्सकी लक्ष्मी श्रेष्ठको विशेष योगदान रहेको थियो।
कार्यक्रम व्यवस्थापक तथा प्याराडाइज इनका दीपक पोख्रेलले यस कार्यक्रमले नेपाली आतिथ्य उद्योगमा सहकार्यको महत्त्वलाई उजागर गर्दै व्यापारिक सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका निभाएको बताए । उनले थपे, “यस कार्यक्रम मार्फत हामीले एसोसिएसनका सदस्यहरूबीच सशक्त सम्बन्ध निर्माण गर्दै मार्केटिङ, जनसम्पर्क, र सञ्चार रणनीतिहरूको विकासमा विशेष ध्यान दिएका छौं। कार्यक्रमको प्रमुख आकर्षण भनेको नयाँ र पुराना सदस्यहरूको भेटघाट तथा भविष्यका सहकार्यका अवसरहरूको बारेमा व्यापक छलफल गर्नु हो। आगामी कार्यक्रममा चितवनमा थप प्रभावकारी रूपमा सञ्चालन गर्ने योजना बनाएका छौं।”
यस एसोसिएसनले आफ्ना सदस्यहरूको व्यवसाय वृद्धि गर्न विभिन्न मार्केटिङ कार्यक्रमहरू विकास गर्दै, होटल व्यवसायीहरूलाई एकापासमा अनुभव साटासाट गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको समेत पोख्रेलले बताए ।
कार्यक्रम व्यवस्थापक तथा होटल येलो प्यागोडाका प्रदीप पौडेलले यस कार्यक्रमले सेल्स एण्ड मार्केटिङको महत्त्वलाई उजागर गर्दै नयाँ सदस्यहरूलाई आकर्षित गर्न र पर्यटन उद्योगमा उनीहरूको भूमिकालाई सशक्त बनाउन विशेष जोड दिएको बताए । उनले भने, “एसोसिएसनका २०० भन्दा बढी सदस्यहरूले यो कार्यक्रमलाई सफलताको उत्सव मात्र नभई नेपालको पर्यटन क्षेत्रको प्रगतिमा योगदान पुर्याउने महत्वपूर्ण अवसरको रूपमा लिएका छौं। हाम्रो उद्देश्य भनेको हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्नु र सेवा तथा गुणस्तरमा ध्यान दिनु हो। हामी सबै अतिथिहरूलाई खुसी बनाउन चाहन्छौं।”
टाइगर टप्सकी लक्ष्मी श्रेष्ठले संस्थाले पर्यटन उद्यम र हस्पिट्यालिटी क्षेत्रमा क्रियाशील व्यवसायीहरूलाई एकसाथ ल्याएर एकता स्थापित गर्ने प्रयास गरिरहेको बताइन्। “हामीले थोरै सदस्यहरूबाट सुरु गरेका थियौँ, तर आज हाम्रो सदस्य संख्या २०० भन्दा बढी पुगेको छ। हाम्रो मुख्य उद्देश्य संयुक्त रूपमा नेपालको पर्यटन र आतिथ्य (हस्पिट्यालिटी) क्षेत्रको दीर्घकालीन विकासमा योगदान पुर्याउनु हो। यससँगै, संस्थागत विकासका लागि मात्र होइन, भेटघाट र रिफ्रेसमेन्टका लागि पनि देशका विभिन्न स्थानमा कार्यक्रमहरू आयोजना गर्दै आएका छौँ। यसले भिन्न ठाउँको अनौठो आतिथ्य सेवाहरू र पर्यटकीय सम्भावनाहरू उजागर गर्न मद्दत पुर्याइरहेको छ”, इन्द्रसरोवर तालमा बोटिङको मजा लिँदै उनले भनिन्।
कार्यक्रम व्यवस्थापक टीमकी उनले इच्छुक व्यवसायीहरूलाई पनि हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनमा सहभागी भएर यस महत्त्वपूर्ण अभियानमा जोडिन आग्रह गर्दै, यसले थप व्यापारिक अवसरहरू सृजना गर्न मद्दत पुर्याउने बताइन्।
गत वर्ष काठमाडौँको बूढानीलकण्ठस्थित तपेस रिसोर्टमा पहिलो वार्षिकोत्सव सम्पन्न भएको थियो ।
नेपालको होटेल उद्योग र पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको एसोसिएसन नेपालभरका फाइव स्टारदेखि नन-स्टार होटेलहरूका सेल्स एण्ड मार्केटिङ प्रतिनिधिहरूको छाता संगठनको रूपमा स्थापित छ ।
प्रतिक्रिया