काठमाडौँ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आयोजना गरेको "EUSEBON Capital Market Futsal Championship -2024" को आज बिहान एक समारोह बिच नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धन्यन्तरी फुटसल भेन्युमा उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै महामन्त्री थापाले धितोपत्र बोर्डले धितोपत्र बजारको उचित नियमन गर्न नसके अहिले सहकारी क्षेत्रमा देखिएको जस्तै समस्या भोलीका दिनमा पूँजी बजारमा समेत देखिन सकिने बताए ।
महामन्त्री थापाले धितोपत्र सम्बन्धि ऐन अहिले सदनमा संसोधनका क्रममा रहेको र ऐन संसोधनबाट समेत धितोपत्र बजारको जटिलताहरु संशोधन हुने कुरामा शंका रहेको कारण, नेपाली काँग्रेसका आफू लगायत अन्य सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएको समेत बताए ।
वान ट्रफी, वान मार्केट, वान फेमेली भन्ने नाराका साथ संचालन गरिएको प्रतियोगितामा, धितोपत्र बजारमा आवद्ध संस्थाका ३१ पुरुष र ९ महिला टिम सहभागी रहेको र प्रतियोगिता शनिवार समापन हुने युनियनका अध्यक्ष अजय ढुंगानाले बताए ।
प्रतियोगितामा प्रथम हुने पुरुष टोलीलाई १ लाख र महिला टोलीलाई ६० हजार नगद पुरस्कार राखिएको छ भने प्रतियोगिताको मुख्य प्रायोजक लक्ष्मी सनराइज बैंक रहेको छ।
प्रतिक्रिया