काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) पएनपीएल विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टिमका क्याप्टेन र खेलाडीका साथै नेपाल क्रिकेट संघ र खेलका व्यवस्थापकलाई बधाई दिएका हुन्।
शनिबार कीर्तिपुर क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्ट्सले एनपीएलको उपाधि जितेको हो।
प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठूला सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न आग्रह गरे।
‘यो हामी सबैको जित हो। नेपालीको जित हो। एनपीएलको जित हो। यस खेलमा तपाईँहरूको असाधारण क्षमता देखिएको छ। दोस्रो हुने सुदूरपश्चिम पनि कमजोर थिएन। कठोर चुनौतीको सामना गरेर विजय हासिल गर्ने जनकपुर बोल्ट्सका खेलाडीहरु बधाईका पात्र हुनुहुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘तपाईँहरु हिरो हो। नायक र महानायक हो। म तपार्ईँहरुको प्रशंसा गर्दछु। खेलको विकासले देश विकासको स्तर पनि मापन गर्छ, आगामी दिनमा अझ ठूला सफलता हासिलका लागि म शुभकामना दिन्छु।’
आफूले प्रधानमन्त्री बहालीपछि हुँदा कीर्तिपुर क्रिकेट मैदानको स्तरतोन्नतिको पहिलो निर्णय गरिएको र निर्माणका लागि बोलपत्र आह्वान गरिएको सुनाउँदै उनले नेपालमा सरकार र आफ्ना तर्फबाट खेल क्षेत्र विकासका लागि गर्नुपर्ने प्रयास निरन्तर हुने बताए।
प्रतिक्रिया