काठमाडौं । गत चैत २० गतेबाट आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने भएको छ ।
सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र मन्त्रालयको तर्फबाट शिक्षा सचिव दिपक काफ्लेले महासंघलाई आज नै वार्तामा बोलाएको थियो ।
शिक्षा मन्त्रालयका अनुसार तीन बजेपछि वार्ता सुरू हुनेछ । सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री पन्तले नै गर्ने छन् ।
सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । ‘नवनियुक्त मन्त्रीज्यूले बोलाउनु भएको छ । एकछिनमा हामी मन्त्रालयमा जान्छौं,’ महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
आजै शिक्षा मन्त्री पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह पनि गरेका थिए । संसद भवन परिसमा पत्रकारसँग उनले कानुन र बजेटले भ्याउनेसम्मको माग पूरा गर्ने बताएका छन् ।
यसअघि बिहीबार सर्वोच्च अदालतले शिक्षकको माग तीन दिन भित्र सम्बोधन गरेर पठनपाठनको वातवरण बनाउन सरकारलाई आदेश दिएको थियो ।




