काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्जले माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवा रोक्ने निर्णय गरेको छ। अस्पतालले बिरामीको उपचार गर्दाको रकम बीमा बोर्डले उपलब्ध नगराएको भन्दै माघ १ गतेदेखि सेवा रोक्न बाध्य भएको अस्पताल प्रशासनको भनाइ छ।
‘नेपाल सरकार स्वास्थ्य वीमा वोर्ड र यस त्रि.वि. शिक्षण अस्पतालबीच सम्झौता भई विगत २०७७ साल देखि नेपाल सरकारको स्वास्थ्य वीमा उपचार कार्यक्रम निरन्तर संचालन हुँदै आएको व्यहोरा सर्वविधितै छ।’ सूचनामा भनिएको छ, ‘स्वास्थ्य बीमाबाट उपचारमा आउने बिरामी संख्या तथा चाप दिनहुँ वृद्धि हुँदै मासिक झण्डै ५ करोड हाराहरीको खर्च हुनेमा बीमा बोर्डबाट ५० प्रतिशत मात्र दावी स्वीकृति गरी बाँकी अस्वीकृत गरिँदै आएको जानकारी गराउँदै हालसम्म अस्पतालको बीमा दाबी रकम झण्डै ४० करोड भुक्तानी बाँकी रहेको व्यहोरा जानकारी गराउँदछु।’
अस्पतालले आफ्नो आन्तरिक स्रोतबाट अस्पतालले सम्पूर्ण दैनिक खर्च व्यहोर्नु पर्ने हुँदा मासिक २ करोड घाटा खाएर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न नसकिने उल्लेख गरेको छ।
सूचनामा भनिएको छ, ‘अस्पतालमा आउने बिरामीहरुको उपचारको क्रममा, वीमा बोर्डको र अस्पतालको दररेट शुल्क फरक भएको अस्पतालले बारम्बार अस्पतालको रकमलाई अन्तिम रकम मानिदिनु भनी विगत २ वर्षदेखि आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको साथै आफ्नो आन्तरिक श्रोतबाट अस्पतालले सम्पूर्ण दैनिक खर्च व्यहोर्नु पर्ने हुँदा मासिक २ करोड घाटा खाएर स्वास्थ्य वीमा कार्यक्रम सञ्चालन गर्न असमर्थ भएकोले यही २०८२ साल माघ ०१ गते देखि नेपाल सरकारको स्वास्थ्य वीमाको सम्पूर्ण उपचार सेवाहरु बन्द गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीकोलागि यो सूचना प्रकाशित गरिएको छ।’



