काठमाडौं । लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ सहयोग गरेको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै घर, जीविकोपार्जनका माध्यम तथा महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको बैंकले जनाएको छ।
तत्कालीन उद्धार तथा राहतका प्रयास क्रमशः पुनःस्थापना र पुनर्निर्माणतर्फ अघि बढिरहेका बेला प्रभावित समुदायलाई दीर्घकालीन सहयोग आवश्यक रहेको भन्दै बैंकले कोषमा योगदान गरेको हो।
बैंकले उक्त योगदानबाट प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनमा फर्किन र पुनर्निर्माणका प्रयास अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
बाढीका कारण आफन्त, घर तथा जीविकोपार्जन गुमाएका परिवारप्रति बैंकले गहिरो समवेदना व्यक्त गरेको छ। साथै, विपद्को समयमा उद्धार, राहत तथा व्यवस्थापनमा खटिएका सरकारी निकाय, सुरक्षा निकाय, उद्धार तथा राहतकर्मी, स्वयंसेवक र स्थानीय समुदायको योगदानप्रति बैंकले सम्मान व्यक्त गरेको छ।
लक्ष्मी सनराइज बैंकले विपद् तथा कठिन परिस्थितिमा समुदायसँगै उभिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिका प्रयासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
लक्ष्मी सनराइज बैंकका देशभर २५४ शाखा र ३२६ एटीएम सञ्चालनमा रहेका छन्।




