काठमाडौं । बोस नेपालले आफ्नो आधिकारिक वितरक इन्फ्राटेक प्रालिसँगको सहकार्यमा ‘बोस पावर पार्टनर्स समिट नेपाल २०२६’ आयोजना गरेको छ । काठमाडौंमा आयोजित वार्षिक कार्यक्रममा करिब १२० डिलर, रिटेलर तथा व्यावसायिक प्रयोगकर्ताको सहभागिता थियो ।
समिटको उद्देश्य व्यावसायिक साझेदारीलाई थप सुदृढ बनाउनु, बजारसम्बन्धी जानकारी आदानप्रदान गर्नु तथा बोस पावर टुल्सका नवीनतम प्रविधि र उत्पादन सार्वजनिक गर्नु रहेको आयोजकले जनाएका छन् ।
कार्यक्रममा बोसका आई–सिरिज, नेक्स्ट जेनेरेसन ह्यान्ड टुल्स तथा निर्माण, काठ उद्योग र औद्योगिक क्षेत्रमा प्रयोग हुने अत्याधुनिक कोर्डलेस समाधानहरू प्रदर्शन गरिएको थियो । सहभागीहरूलाई उत्पादन प्रदर्शन, व्यावसायिक छलफल तथा नेटवर्किङ सत्रमार्फत नवीन प्रविधि र बजारका पछिल्ला प्रवृत्तिबारे जानकारी गराइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बोस पावर टुल्स इन्डियाका रिजनल प्रेसिडेन्ट सन्मय दास गुप्ताले नेपाल दक्षिण एसियामा बोसका लागि महत्त्वपूर्ण सम्भावना बोकेको बजार भएको बताए । उनले डिलर साझेदारसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै कोर्डलेस तथा व्यावसायिक उत्पादनको दायरा विस्तार गर्ने र उत्कृष्ट बिक्रीपछिको सेवा तथा डिजिटल पहुँचमार्फत ग्राहकलाई थप मूल्य प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।
त्यसैगरी, बोस नेपालका कन्ट्री हेड सन्दीप कामतले नेपाल बोस पावर टुल्सका लागि महत्त्वपूर्ण विकासोन्मुख बजार भएको उल्लेख गर्दै नवीन उत्पादन, प्रभावकारी बिक्रीपछिको सेवा र डिलर सञ्जालसँगको सहकार्यमार्फत कम्पनीले आफ्नो उपस्थिति अझ सुदृढ बनाउने बताए ।
इन्फ्राटेक प्रालिका प्रबन्ध निर्देशक आकाश गोल्छाले बोससँगको साझेदारी र गुणस्तरीय सेवामार्फत देशभरका व्यावसायिक प्रयोगकर्तालाई उत्कृष्ट समाधान उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा बोस पावर टुल्स इन्डिया क्षेत्रकी मार्केटिङ प्रमुख ऋतु झाले कम्पनीका नवीनतम उत्पादन तथा प्रविधिबारे प्रस्तुति दिएकी थिइन् ।
यस अवसरमा उत्कृष्ट व्यावसायिक प्रदर्शन, ब्रान्डप्रतिको प्रतिबद्धता तथा नेपालमा बोस पावर टुल्सको व्यवसाय विस्तारमा योगदान पुर्याएका उत्कृष्ट १० डिलर तथा ग्राहकलाई सम्मानसमेत गरिएको थियो ।
समिटको समापनसँगै बोस नेपाल र इन्फ्राटेक प्रालिले नवीन उत्पादन, गुणस्तरीय सेवा र डिलर साझेदारीलाई थप मजबुत बनाउँदै नेपालमा व्यावसायिक विकासलाई गति दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।




