काठमाडौं । अमेरिकाको उत्तर–पूर्वी भूभागमा सोमबार एक शक्तिशाली ‘विन्टर स्टर्म’का कारण भारी हिमपात भएको छ । भारी हिमपातका कारण सार्वजनिक यातायात ठप्प भएको छ । हिमपात र आँधीका कारण लाखौँ मानिस घरमै थुनिएका छन् ।
सामान्यतया भीडभाड रहने सडकहरू सुनसान देखिएका छन् । विमानस्थलहरू खाली भएका छन् । विद्यालयहरू बन्द भएका छन् । हवाई यात्रामा यस आँधीको सबैभन्दा ठूलो असर परेको छ ।
फ्लाइट ट्रयाकिङ सेवाका अनुसार २१ देखि २४ फेब्रुअरीको बीचमा १० हजारभन्दा बढी उडान रद्द गरिएका छन् । सोमबार मात्रै पाँच हजारभन्दा बढी उडान रद्द भए भने मंगलबारका लागि १३ सयभन्दा बढी उडान पहिले नै रद्ध गरिसकिएको छ ।
जोन एफ. केनेडी इन्टरनेसनल एयरपोर्ट, लागार्डिया एयरपोर्ट, बोस्टन लोगन इन्टरनेसनल एयरपोर्ट र नेवार्क लिबर्टी इन्टरनेसनल एयरपोर्ट सबैभन्दा बढी प्रभावित भएका छन् । रेल र बस सेवा पनि धेरै राज्यमा पूर्णरुपमा प्रभावित भएका छन् ।




