काठमाडौं । अमेरिकाका दर्जनौँ अन्तर्राष्ट्रिय कानुन विज्ञहरूले एउटा खुला पत्रमा हस्ताक्षर गर्दै इरानमाथि गरिएका अमेरिकी हमलाहरू युद्ध अपराध हुन सक्ने बताएका छन् ।
१०० भन्दा बढी कानुन विज्ञहरूले उक्त पत्रमा अमेरिकी सेनाको व्यवहार र वरिष्ठ अधिकारीहरूको भनाइले अन्तर्राष्ट्रिय मानवअधिकार कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघनमा सम्भावित युद्ध अपराधहरू समावेश भएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
उनीहरूले भनेका छन्, “यो युद्धले अमेरिकी करदाताहरूलाई दैनिक १ देखि २ अर्ब डलरसम्मको भार थपिरहेको छ । यसले यस क्षेत्रका नागरिकहरूलाई ठूलो क्षति पुर्याइरहेको छ, मध्यपूर्वमा सयौँ नागरिकको ज्यान गएको छ र गम्भीर वातावरणीय एवं आर्थिक नोक्सानी भइरहेको छ ।”
उक्त पत्रमा ट्रम्पले मार्चको मध्यतिर दिएको एक विवादास्पद अभिव्यक्तिलाई पनि उल्लेख गरिएको छ, जसमा उनले अमेरिकाले इरानमा ‘रमाइलोका लागि मात्रै पनि हमला गर्न सक्ने’ बताएका थिए । साथै, रक्षा सचिव पिट हेगसेथले मार्चको सुरुतिर ‘अमेरिका मुर्खतापूर्ण सैन्य नियमहरू अनुसार नलडिने’ भनी दिएको अभिव्यक्तिलाई पनि उद्धृत गरिएको छ ।
विज्ञहरूले विद्यालय, स्वास्थ्य संस्था र घरहरूमा भएका हमलाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । युद्धको पहिलो दिन इरानको एउटा विद्यालयमा भएको हमलाको पनि चर्चा गरेका छन् ।
हेगसेथले यसै हप्ताको सुरुमा अमेरिकी सेन्ट्रल कमान्डले फेब्रुअरी २८ मा इरानको एउटा प्राथमिक विद्यालयमा भएको हमलाको अनुसन्धान गर्न टोली खटाएको बताएका थिए, जसमा करिब १७५ जनाको मृत्यु भएको थियो ।
द न्युयोर्क टाइम्स र अन्य अमेरिकी सञ्चारमाध्यमहरूले यस महिनाको सुरुमा रिपोर्ट गरेअनुसार, जारी सैन्य अनुसन्धानले अमेरिकी ‘टोमाहक’ मिसाइलले भूलवश उक्त विद्यालयमा प्रहार गरेको निष्कर्ष निकालेको जनाएको छ ।




