काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारका निम्ति विशेष रूपमा डिजाइन गरिएको ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गरेको छ । ‘हरेक घरको खुसी, घरघरमा एलजी’ अभियानअन्तर्गत भरतपुरस्थित विवान्ता होटेलमा आयोजित एक विशेष कार्यक्रमबीच यी नयाँ उत्पादनको औपचारिक अनावरण गरिएको हो ।
नेपाली उपभोक्ताका आवश्यकता, जीवनशैली र स्थानीय परिस्थितिलाई ध्यानमा राखेर विकास गरिएको यो शृंखलाले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन र किफायती मूल्यलाई एकैसाथ समेटेको छ । यो नयाँ शृंखलामा डबल–डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन र रुम एयर कन्डिसनर समावेश छन् ।
रेफ्रिजेरेटरमा फ्रस्ट–फ्री प्रविधि र ‘स्मार्ट मोड’ सुविधा छ, जसले मौसमानुसार चिस्यानलाई स्वचालित रूपमा नियन्त्रण गर्छ । साथै, नेपाली परिवारको आवश्यकतालाई ध्यानमा राख्दै यसमा अघिल्ला मोडेलको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमता प्रदान गरिएको छ ।
वासिङ मेसिन पनि नेपालको विविध वातावरणीय अवस्थालाई सुहाउँदो बनाउन यसमा प्रो–शिल्ड मोटर, बीएमसी कभर र पानीले नबिग्रने कन्ट्रोल प्यानल राखिएको कम्पनीको दाबी छ । कम पानीको चाप भएको ठाउँमा पनि प्रभावकारी धुलाइ सुनिश्चित गर्न यसमा ‘लो–प्रेसर फिल’ प्रविधि प्रयोग गरिएको छ ।
एयर कन्डिसनरमा ऊर्जा–दक्ष प्रविधियुक्त यस एसीले कुलिङ र हिटिङ दुवै सुविधा प्रदान गर्छ । यसमा वातावरणमैत्री आर३२ रेफ्रिजेरन्ट प्रयोग गरिएको छ र यसले न्यून ध्वनिमा काम गर्दै विद्युत् खपत समेत कम गर्छ ।
कम्पनीका अनुसार, एसेन्सियल सिरिजका उत्पादनको मूल्य करिब ४९ हजार ६९० रुपैयाँबाट सुरु हुनेछ । यी उपकरण सन् २०२६ जुनदेखि देशभरका आधिकारिक एलजी ब्रान्ड सप, मल्टि–ब्रान्ड रिटेल आउटलेट र प्रमुख ई–कमर्स प्लेटफर्महरू मार्फत बिक्रीका लागि उपलब्ध हुनेछन् ।
नेपालमा एलजी उत्पादनहरूको एक मात्र आधिकारिक वितरकका रूपमा रहेको सीजी इलेक्ट्रोनिक्सले विगत चार दशकदेखि एलजीसँगको सहकार्यमार्फत नेपाली ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । विश्वव्यापी अग्रणी ब्रान्ड एलजीले यो नयाँ शृंखलामार्फत नेपाली घरपरिवारको दैनिक जीवनलाई थप सहज र समृद्ध बनाउने कम्पनीको विश्वास छ ।




