काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत धनगढीमा सञ्चालन हुन लागेको मिड-डे मील (दिवा भोजन) कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ।
बैंकका अनुसार फुड फर लाइफ नेपालले सञ्चालन गर्ने उक्त कार्यक्रमअन्तर्गत केन्द्रीकृत भान्सा प्रणालीमार्फत धनगढीका सरकारी विद्यालयमा अध्ययनरत करिब ५ हजार विद्यार्थीलाई स्वच्छ, पौष्टिक तथा सन्तुलित दिवा भोजन उपलब्ध गराइनेछ।
विशेषगरी आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीहरूको पोषण अवस्था सुधार, विद्यालयमा नियमित उपस्थिति वृद्धि तथा शिक्षामा निरन्तरता कायम गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले व्यक्त गरेको छ।
मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा प्रभावकारी कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्दै आएको जनाएको छ।
आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाजको दिगो विकासमा योगदान पुग्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।




